काठमाडौं । मानव शरीरका लागी घातक मानिने ‘मेथानोल’ नामको रसायन मिसाएर ह्यान्ड सेनिटाइजर उत्पादन गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखा र प्रहरी परिसर काठमाडौंले आइतबार उपत्यकाका ३ वटा सेनिटाइजर उद्योग र तीनवटा गोदाममा छापा मारेको थियो । पक्राउ पर्नेमा ‘७५ प्रतिशत प्लस’ नामको सेनिटाइजर उत्पादक सुनसरी घर भएका आशिष प्याकुरेल, बालाजुस्थित उत्सव डिटरजेन्ट एण्ड कस्मेटिकका संचालक राकेश अग्रवाल र कमल अग्रवाल छन् । सोह्रखुट्टेस्थित लामा समिप इन्टरप्राइजेजका संचालक सुमन बहादुर तामाङलाई पनि प्रहरीले पक्राउ गरेको छ । बालाजु स्थित औद्योगिक क्षेत्रमा रहेको उत्सव डिटरजेन्ट एण्ड कस्मेटिक र सो उद्योगको ताहाचलस्थित गोदाममा महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले छापा मारेको हो । उत्सव डिटरजेन्ट एण्ड कस्मेटिक उद्योगको नाममा दर्ता रहेको सो कम्पनीले सेनिटाइजर उत्पादन गर्ने अनुमती नपाएको परिसर काठमाडौंका एसपी रमेश बस्नेतले रातोपाटीलाई बताए ।
ललितपुरको इमाडोलमा आशिष प्याकुरेलले आरसिबी इन्डष्ट्रिज, पर्सा नामक कम्पनीको ब्यानरमा उत्पादन गरेको ‘७५ प्रतिशत प्लस’ नामको सेनिटाइजरमा २४ प्रतिशत मेथानोल मिसिएको ल्याव परीक्षणबाट पुष्टि भएको छ । ‘औषधी व्यवस्था विभागको प्रयोगशालामा परिक्षण गर्दा २४ प्रतिशत मेथानोल नामक घातक रसायन मिसाएको भेटियो’ महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्र कुवेर खापुङले रातोपाटीसँग भने–‘उनलाई आवश्यक कारवाहीका लागी महानगरीय प्रहरी परिसर ललितपुरमा पठाएका छौं ।’महाशाखाले त्रिपुरेश्वर स्थित प्याकुरेलले संचालन गरेको लाइफ लाइन सर्जिक हाउसमा समेत छापा मारेर करिब १ करोड ८० लाख मूल्यको सेनिटाइजर बरामद गरेको छ । आरोपीहरु बिरुद्ध प्रहरीले कालोबजारी तथा सामाजिक अपराध ऐन–०३२ अनुसारको कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धान गरिरहेको छ । राताेपाटी ।