पर्वत । पर्वतबाट प्रतिनिधिसभाका सदस्यमा निर्वाचित भएसँगै सांसद पदम गिरीले ५ वर्ष भित्र कुस्मा–दुर्लुङ–क्याङ सडक कालोपत्रे गर्ने बताएका थिए । त्यही अनुसार कालोपत्रे गर्ने काम पनि भइरहेकै छ । सांसद गिरीले केन्द्रिय रणनीतिक सडकमा यसलाई समावेश गरेपछि महत्त्वपूर्ण सडक मानिने नै भयो ।
यता ‘सडक कालोपत्रे ग¥यौ’,भनेर हर्षबढाइँ गरिँदा सदरमुकाम बाट मात्र केही मिनेटको दुरीमा रहेको कुस्मा–दुर्लुङ–क्याङ सडक अन्तर्गत कुस्मा नगरपालिका ७ स्थित पुरी टोलमा सडक भ्वाङ पर्दा समेत कसैको ध्यान जान सकिरहेको छैन । सडकमै एक मिटर गहिरो भ्वाङ परेको छ । त्यस सडकमा ओहोरदोहोर गर्ने सवारी साधनहरू जुन कुनै बेला पनि दुर्घटना हुन सक्ने कुराको सम्बन्धित वडालाई जानकारी गराएको भए पनि कुनै सुनुवाइ हुन नसकेको स्थानीय गणेश गौतमले जानकारी दिए । ‘गएको वर्ष ठुलो झरी पर्दा सानो भासिएको थियो‘, उनले भने, ‘पछि गहिरो बन्दै गयो ।’
वडा कार्यालय मात्र १ मिनेटको दुरीमा रहेको छ । नजिकै रहेको जोखिमलाई निर्वाचित जनप्रतिनिधिहरुले नदेखेपछि सदरमुकामका स्थानीय ज्ञानेन्द्र कुमार जोशीले सडकमा परेको भ्वाङको तस्बिर सहित सामाजिक सञ्जालमा सेयर गरेका छन् । उनले जनप्रतिनिधीहरुलाई सचेत पनि गराएका छन्,‘अहिले सानो भासिएको छ, भोलि बर्खा लाग्दै छ बेलैमा बिचार पु¥याउने कि ?’
रोचक कुरा के छ भने प्रतिनिधिसभा सांसद पदम गिरीको नवनिर्मित घर र वडा सदस्य परशुराम पुरीको घर आमनेसामने छन् । उनीहरूको घर छेउकै जमिन पनि गएको बर्खाका कारण भासिन पुगेको हो । बेवास्ता गरिएको सडकको त्यो भ्वाङ र जनप्रतिनिधीहरुको घर अघिको जमिन लगभग एउटै समय भासिएका हुन् । यी दुईको दुरी जम्मा १ मिनेटको छ । पहुँच र शक्तिको आधारमा सांसद गिरी र वडा सदस्य पुरीको घर अघि भासिएको ठाउँमा त्यही बेला देखि मर्मत तथा सम्भार सुरु गरिएको थियो ।
यता वडा नम्बर ७ का वडा अध्यक्ष सुभाषचन्द्र पौडेलले सांसद गिरी र वडा सदस्यको घर अघि भइरहेको मर्मत सम्भारका बारेमा थाह भए पनि कहाँ बाट बजेट ल्याएर काम भइरहेको छ, भन्ने विषयमा अनविज्ञ भएको बताए । ‘बजेट के, कति लागत हो हामीलाई थाहा भएन ।’, उनले भने, ‘माननीय ज्यू कै पहलमा भएको हो भन्ने बाहेक वडालाई अरू केही जानकारी छैन ।’
वडा अध्यक्ष पौडेलले अन्य ठाउँमा समेत जमिन भासिनुका साथै ससाना भ्वाङहरू परेको बताए । ‘पुरी टोल अन्त्रगतको सडकमा मात्र नभएर अन्यत्र पनि यस्तो समस्याहरू आएका छन् ।’, पौडेलले भने,‘हामीले भूगर्भविदहरुलाई जमिन पनि देखाइसकेका छौँ, उहाँहरूको प्राविधिक टोलीले केही दिनमै रिपोर्ट दिएपछि त्यही अनुसार काम गर्छौँ, भ्वाङ परेको ठाउँमा माटो लगेर पुर्न खासै समस्या छैन ।’