Home Vlog जनताले सोध्लान् खोइ सांसद भन्लान्…!

जनताले सोध्लान् खोइ सांसद भन्लान्…!

by ईलालटिन
0 comment

सुमन जंग ।
काठमाण्डौंमा एउटी महिला सांसद रुँदै थिइन् । अलिक पर एउटा औषधी बोकेको गाडी रोकी रहेको थियो । उनका वरिपरि केही अभियानकर्ता र पत्रकारहरू थिए । ‘दाङका मेरा जनता अक्सिजन नपाएर मरी राका छन्, केही अक्सिजनको सिलिन्डर र औषधी जम्मा गरेर अहिले दाङ जाँदै छु ।’ सांसद चौधरी आँसु पुछ्दै सकिनसकी बोल्दै थिइन् ।

सङ्कटको घडीमा सांसद चौधरीले आफ्ना मतदाताप्रति देखाएको जिम्मेदारी देख्दा अन्य ठाउँका मतदातालाई लाग्दो हो, कास हाम्रा सांसद पनि यस्तै भइदिए । तर, ‘सम्झने पानी छम्कने ।’ गायिका रचना रिमालको गीत जस्तै । यस्तो अवस्थामा पनि कुर्चीका लागि नाङ्गो दौड गर्नेहरूलाई देख्दा ‘लाज’ नै लजाएर बस्न बाध्य भएको अवस्था छ । र, त प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ लिँदै गर्दा राष्ट्रपति सँग भद्दा मजाक गरिरहन्छन् ।

बिरामी शैया र अक्सिजन नपाएर मरिरहेका हुन्छन् । देशका प्रमुख उल्टै प्रश्न गर्छन्, कसले भन्यो अक्सिजन र बेड पाएन भनेर ? केही दिन अघि एउटा दृश्यले सामाजिक सञ्जाललाई नै स्तब्ध बनाएको थियो । एम्बुलेन्स लाइ हारगुहार गर्दा पनि नआएपछि ट्याक्टरमा राखेर बिरामीलाई अस्पताल लाँदै गरिएको थियो । यता सरकारका गृहमन्त्री रामबहादुर थापा चाहिँ हेलिकप्टर चढेर चुनावको तयारी गर्दै थिए । के शासकहरू सँग साँच्ची मुटु नै नहुने हो र, भए त कतै दुख्थ्यो होला नि । कि पत्थरको मुटु हुन्छ हँ ! जिज्ञासा ।

मर्ने त त्यही जनता न हो । यस्तो लाग्छ यिनै नेताहरू बाहेक सबैको निधारमा नाम लेखिएको छ, ‘अब मर्ने पालो तेरो ।’ सत्ताको आँखाले खै के देख्छ कुन्नि, लासमा पनि राजनीति गर्न थाल्छ । सत्ताका मान्छेहरू यसो किन भन्दैनन्, ‘अब बिरामी कोही मर्न दिँदैनौ है, हामीले अक्सिजन पर्याप्त जोहो गरिसक्यौँ, बेडहरू चाहिने जति थपिसक्यौँ ।’ हिजो एक मन्त्रीले भन्दै थिए, शव जलाउनेहरूलाई १ हजार भत्ता दिन्छौँ । कतै यस्तो लाग्छ बचाउन हैन मार्न प्रोत्साहन गर्दै छ सक्ता ।

यति बेला आफूलाई जनप्रतिनिधि भन्नेहरू धेरै काठमाण्डौँमै विराजमान छन् । उनीहरू सत्ताको वरिपरि जागाराम बसिरहेका छन् । लाग्दो हो, म भइन भने त, सरकार ढली हाल्छ नि ! तर, उनीहरूलाई मत दिएर जिताउनेहरू नै अहिले कोरोना सङ्क्रमणले ढलिरहेको खबर सुन्छन् कि सुन्दैनन् होला । मेरो पहलमा फलानो ठाउँमा यति बजेट दिएँ, यहाँसम्म बाटो निर्माण गरेँ, भन्नेहरू साँच्चै बिरानी एकै होलान् त ! जिज्ञासा ।

पङ्क्तिकार पर्वतमै पत्रकारिता गर्ने भएको हुँदा यहाँका मतादाताले आफ्ना जनप्रतिनिधीहरुलाई खोजिरहेका छन् है, भन्न मात्र खोजेको हुँ । सरकार भएको अनुभूत नागरिकले गर्न छाडिसकेका छन् । यस बेला कमसेकम हाम्रा जनप्रतिनिधि चाहिँ हाम्रै लागि काम गर्छन् भन्ने महसुस दिलाउन विलम्ब नगरिदिँदा हुन्थ्यो । गर्ने त सरकारले हो, तपाईँहरूले हैन । तर, पीडामा भएका परिवार, समुदायमा हौसला, आत्मविश्वास भर्न त सकिन्छ नि । सधैँ तपाईँको सक्ताको भ¥याङ बनिदिने बिचरा ती भूँईमान्छेहरुको पीडाले समेत नछोएपछि त्यही एउटा गीतको याद आउँछ, ‘मनमा पिर त पर्ने नै भयो, यो मन त्यसै मर्ने नै भयो ।’ अवस्था यस्तै नै हो ।

काठमाण्डौँको सक्ताले पुर्नजिवन पाइसक्यो । अब गाउँ फर्कँदा हुन्छ । तपाईँले बनाएका प्रधानमन्त्रीलाई अब कसैले हल्लाउने छैनन्, भर परेर फर्कनुहोस् । यो समय जनप्रतिनिधि अङ्कगणित बनेर प्रधानमन्त्री मात्र बनाउँदैनन्, जनताको आँसु पुछने काम पनि गर्छन् है, भन्ने पार्नुहोस् । सरकार त्यसतै भो । कमसेकम तपाईँले त अभिभावकत्व ग्रहण गर्नुहोस् । जनताले सोध्लान् खोइ सांसद भन्लान्…? ‘काठमाण्डौँमै रमाए ।’ भन्ने कि, ‘गाउँकै सेवामा रमाए ।’ त्यो तपाईँको रोजाई ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com