महोत्तरी । उदाउँदो सूर्यलाई अघ्र्य दिँदै श्रद्धा, निष्ठा र लोकआस्थाको वासन्ती छठ पर्व आज सम्पन्न भएको छ । चैत शुक्लपक्षकोे षष्ठी तिथिका दिन हिजो अस्ताउँदो सूर्यलाई पहिलो अघ्र्य दिएका बर्तालुले आज बिहान उदाउँदो सूर्यलाई दोस्रो अघ्र्य दिँदै पर्व सम्पन्न गरेका हुन् । यसअघि गत शुक्रबार चौथीका दिन ‘नहाय–खाय’ विधिबाट व्रत सङ्कल्प गर्दै पर्व शुरु गरेका बर्तालुले शनिबार पञ्चमी तिथिमा दिनभरि निराहार व्रत बसी राति सक्खरमा पकाइएको खिरमात्र खाएर ‘खरना’ विधि सम्पन्न गरेका थिए । चार दिनको यो पर्वको पहिलो दिन पवित्र स्नान गरेर चोखोनितो खाई व्रत सङ्कल्प गरिन्छ । यो विधिलाई ‘नहाय–खाय’ भन्ने चलन छ । यस्तै दोस्रो दिन पञ्चमीमा दिनभरि उपवास बसेर बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सक्खर, दूध र चामलको खिर पकाई केराको पातमा राखेर आदिशक्ति छठी मातालाई चढाएर बर्तालु र परिवारका अन्य सदस्यले प्रसादको रुपमा खाने गर्छन् । यो विधिलाई ‘खरना’ भनिन्छ ।
मिथिलामा शारदीय र वासन्ती गरी वर्षमा दुई पटक छठ पर्व मनाउने परम्परा छ । कात्तिक शुक्लपक्षको चौथीदेखि सप्तमीसम्म मनाइने शारदीय (कैतकी) र चैत शुक्ल चौथीदेखि सप्तमीसम्म मनाइने वासन्ती (चैती) छठ पर्वको विधि र आवश्यक सामग्री भने एकै प्रकारका छन् । तराईमा शारदीय छठजति वासन्ती छठ मनाउने चलन भने छैन । यद्यपि पछिल्ला केही दशकयता वासन्ती छठको रमझम पनि बढ्दै गएको छ ।सूर्य उपासनाको यो पर्वले हर मनोकाङ्क्षा पूरा गर्ने विश्वास गरिन्छ । सूर्य र सूर्य पत्नी षष्ठीको उपासना गरिने यो व्रतको प्रभावले सन्तान सुख र आरोग्यता प्राप्त हुने जनविश्वास छ । खासमा व्रतको प्रभावले चर्मरोग नहुने र भएकाहरु चाँडै निको हुने मैथिल जनविश्वास रहेको छ ।यो पर्व परम्परा द्वापर युगमा श्रीकृष्णका छोरा साम्वले चर्मरोगबाट निको हुन प्रारम्भ गरेका विश्वास गरिन्छ । वासन्ती छठ वासन्ती नवरात्रभित्रै पर्ने भएको हुँदा देवी र सूर्य उपासनाको पर्व एउटै पक्षमा सँगसँगै पर्ने गरेको छ । रातोपाटी ।