काठमाडौं । कोरोना महामारीको सुरुवातमा नै रुसमा राष्ट्रपति भ्लादिमीर पुटिनको सुरक्षाका लागि हर सम्भव कोसिस गरिँदै छ । यसका लागि प्रशासनले केही असाधारण तरिका पनि अपनाएका छन् ।पुटिनको कोभिड–१९ सुरक्षाका लागि क्वारेन्टिनको एक विशेष तरिका अपनाइएको छ । क्वारेन्टिनमा नबसेका मानिसले सायदै भ्लादिमिर पुटिनलाई भेट्न सक्लान् ।अघिल्लो वर्ष रुसमा राष्ट्रपति पुटिनको सम्पर्कमा भएका कारण सयौं मानिसहरुलाई क्वारेन्टिनमा राखियो ।केही मानिसहरुलाई सावधानीको रुपमा आइसोलेट हुनुपर्‍यो जबकि उनीहरु राष्ट्रपति पुटिनको सिधा सम्पर्कमा पनि थिएनन् । तर उनीहरु ती मानिसहरुको सम्पर्कमा थिए जसले राष्ट्रपतिलाई भेटेका थिए ।२५ मार्च सन् २०२० मा देशलाई सम्बोधन गर्दै राष्ट्रपति पुटिनले कोरोनाको बढ्दो मामिलाका कारण एक अप्रिललाई ‘नन वर्किङ विक’ को सुरुवातको रुपमा मानिनेछ ।त्यसपछि अप्रिलमा देशभरी लकडाउन लागू गरियो । यसमा खासै आवश्यक नपर्ने पसल बन्द गरियो, ठूला सभामा रोक लगाइयो र ठूलो संख्यामा मानिसहरुले घरबाटै काम गर्न थाले । यतिबेला राष्ट्रपतिलाई सेवा दिने रुसी पिमान सेवा रोशियाको एक विशेष विमानका ६० क्रु सदस्य र अन्य सरकारी अधिकारीलाई २६ मार्च २०२० मा पहिलो पटक क्वारेन्टिन गरिएको थियो ।
उनीहरुलाई एउटा होटलमा राखियो जुन राजधानी मस्को नजिकै थियो ।यसपछि सयौं पाइलट, स्वास्थ्यकर्मी, ड्राइभर, अन्य सहायक कर्मचारी र राष्ट्रपतिलाई भेट्न आउने मानिसहरुलाई पनि दर्जनौं होटलमा क्वारेन्टिनमा राखियो । यी सबैको पछाडि एउटै उद्देश्य थियो राष्ट्रपति पुटिनलाई कोभिड–१९ संक्रमणबाट जोगाउनु ।राष्ट्रपति पुटिनलाई स्वदेशी भ्याक्सिन लगाइएको खबर हालै आएको थियो । यद्यपि, त्यो कुन भ्याक्सिन थियो, यसबारे कुनै जानकारी दिइएको छैन ।तर यति हुँदा हुँदै पनि अबको वर्षमा मानिसहरुलाई होटलमा क्वारेन्टिन राख्ने सिलसिला जारी रहन सक्छ ।राष्ट्रपतिको कामकाजको सञ्चालन हेर्ने निर्देशनालयलाई महामारीबाट बच्ने उपायका लागि बजेटभन्दा ६.४ अर्ब रुबल कोष दिइएको छ ।बीबीसी रुसी सेवाले पाएको जानकारी अनुसार मानिसहरुलाई क्वारेन्टिनका लागि कम्तिमा १२ वटा होटल प्रयोग गरिँदै छ । यी सबै होटल मस्को र आसपासका इलाकामा छन् ।रुसमा दोस्रो विश्वयुद्धमा जीतको ७५ औं वर्षगाँठमा एक भव्य समारोह हुनुपर्ने थियो तर यस्तो भएन । यो समारोहलाई भिक्ट्री डे परेड पनि भनिन्छ ।
अन्तिम विश्युद्धको यो याद र नाजीलाई हराउनमा रुसको भूमिका पुटिन सरकारको देशभक्तिको वर्णनको महत्वपूर्ण हिस्सा हो । यो भिक्ट्री डे परेड ९ मेमा रेड स्क्वायरमा आयोजना हुन्छ ।तर यसपटक यसलाई २४ जून सन् २०२० मा आयोजना गरियो र त्यो पनि निकै सानो समारोहबीच । यद्यपि, यसपटक पनि सैन्य परेड यसको हिस्सा रहेको थियो ।समारोहका बेला विश्वयुद्धमा संलग्न भएका सेवानिवृत्त सैनिक र चर्चित हस्तीले राष्ट्रपति पुटिनसँग हात मिलाए र पुरस्कार प्राप्त गरे ।ब्लूमबर्गका अनुसार यो आयोजनाभन्दा दुई हप्ताअघि २ सय बढी मानिसहरुलाई क्वारेन्टिन गरिएको थियो । यीमध्ये ८०–९० वर्षका ८० अवकाशप्राप्त सैनिक पनि समावेश थिए जसले राष्ट्रपतिलाई समारोहका दिन भेट्नु थियो ।क्रेमलिनका प्रवक्ता दमित्री पेस्कोवले जूनमा हुने परेडअघि सेवानिवृत्त सैनिकको एक समूहलाई उत्कृष्ट स्थितिमा क्वारेन्टिन गरिएको थियो ।उनीहरुले यस्तो सावधानी अपनाउनका लागि गरिएको थियो भनेर जानकारी दिए ।रुसको सरकारी समाचार एजेन्सी तास र आरआईए–नोवोस्तीमा यस्तै प्रकारको समाचार प्राप्त भएको थियो । यसमा मस्कोको एउटा होटलमा २० पत्रकारलाई क्वारेन्टिन गरिएको बताइएको थियो । एउटा कोठामा एकैजना व्यक्ति बसेका थिए र उनीहरुलाई आमने सामने बस्ने अनुमति थिएन । उनीहरु भर्चुअल रुपमा मात्रै कुरा गर्न सक्थे ।
उनीहरुलाई धुम्रपान र मद्यपानको अनुमति पनि थिएन । उनीहरुका लागि होटलबाहिर आउने प्याकेज र पार्सलको परीक्षण गरेपछि संक्रमण रहित गरेपछि मात्रै सुम्पिइने गरिन्थ्यो ।यी पत्रकारलाई दिनमा तीनपटक खाना दिइन्थ्यो । डिस्पोजेबल भाँडामा खाना राखेर उनीहरुको कोठा बाहिर राखिन्थ्यो । उनीहरुको सम्पर्कमा आउने हरेक व्यक्तिलाई पीपीई किट लगाउन आवश्यक थियो ।क्षेत्रीय स्तरमा सरकारी अधिकारीलाई राष्ट्रपति पुटिनको भ्रमण अघि आइसोलेशनमा जानु परेको रिपोर्ट पनि सार्वजनिक भएको थियो । उदाहरणका लागि निजनी नोवगरद शहरको सारोव इलाकामा स्थानीय प्रशासनलाई राष्ट्रपति भ्रमणका बेला कोरोनाभाइरसको संक्रमण रोक्नका लागि एक मिलियन रुबल्स दिइएको थियो । बीबीसी रुसी सेवाले प्राप्त गरेको जानकारी अनुसार सारोव स्थानीय प्रशासनका करिब २० सदस्यलाई आइसोलेशनमा राखिएको थियो । रातोपाटी ।