म्याग्दी । म्याग्दीको सदरमुकामस्थित बेनी अस्पतालको सबै शय्यामा पाइपबाट अक्सिजन आपूर्ति गराउन थालिएको छ । अस्पताल परिसरमा स्थापना भएको अक्सिजन उत्पादन केन्द्रबाट सिधै उपचारका लागि भर्ना भएका बिरामीको शय्यासम्म पाइपबाट अक्सिजन आपूर्ति गराउन थालिएको हो ।अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले अस्पतालमा भएका सबै ३० शय्यामा अक्सिजन पाइप जडान गरिएको जानकारी दिए। आकस्मिक, मिर्गौला डायलासिस, सघन उपचारकक्ष (आइसीयू) र बहिरङ्ग विभागका शय्यामा अक्सिजन आपूर्ति गराउन पाइपलाइन जडान भएको छ । “उत्पादन केन्द्रबाट सबै शय्यासम्म अक्सिजन आपूर्ति गर्ने पाइप जोडिएको छ”, अध्यक्ष कटुवालले भने, “आवश्यकताका आधारमा चिकित्सक र स्वास्थ्यकर्मीको सुझावअनुसार बिरामीले शय्यामै अक्सिजन पाउँछन्, सिलिण्डर भरेर ओसार्नु पर्दैन ।पाइपबाट शय्यामै अक्सिजन आपूर्ति हुन थालेपछि श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामीको उपचार सहज भएको अस्पतालका प्रमुख चिकित्सक डा जितेन्द्र कँडेलले बताए । “श्वासप्रश्वास, आइसीयूमा राख्नुपर्ने, दमलगायत शल्यक्रिया गर्नुपर्ने बिरामीको उपचारमा सहज भएको छ”, उनले भने, “गत पुस महिनादेखि अस्पतालमा अक्सिजन उत्पादन शुरु गरेपछि घरमै अक्सिजन दिएर राख्नुपर्ने बिरामीका लागि पनि सिलिण्डर भर्न पोखरा जाने समय र खर्चको बचत भएको छ ।”
मन्त्रालयको रु पाँच लाख सहयोगमा अक्सिजन प्लान्ट स्थापना गर्ने भवन निर्माण गरिएको छ । अक्सिजन उत्पादन केन्द्र र औषधि बिक्रीकक्षको बिहीबार सामाजिक विकासमन्त्री नरदेवी पुनले उद्घाटन गरेका थिए। लायन्स क्लब अफ बेनी पिस सिटीका संस्थापक अध्यक्ष राजेश शाक्यले व्यक्तिगतरूपमा रु तीन लाख ५१ हजार खर्चेर औषधि बिक्रीकक्षको भवन निर्माण गरेका हुन् । धवलागिरि गाउँपालिकाले चालु आवमा विनियोजन गरेको रु ३० लाखबाट सघन उपचारकक्षमा एक भेन्टिलेटर थप गर्ने र एसी जडान गर्ने तयारी भएको कटुवालले बताए । विसं २०७२ मा ५० शय्या क्षमतामा स्तरोन्नति भएको बेनी अस्पतालले हालै पाँच शय्या क्षमताको सघन उपचारकक्ष सञ्चालनमा ल्याएको थियो । गत साउन महिनादेखि मिर्गौलाको डायलासिस सेवा शुरु गरेको अस्पतालले आँखा उपचारकक्षसमेत सञ्चालन गरेको छ । फोहर व्यवस्थापन केन्द्रसमेत स्थापना गरेको छ । पचास शय्या क्षमताको भवन निर्माणमा भएको ढिलासुस्ती र दरबन्दीअनुसारका चिकित्सक तथा स्वास्थ्यकर्मी नहुनु बेनी अस्पतालको चुनौती देखिएको छ ।रातोपाटी ।