Home समाचार हिउँदे सिजनका लागि ४५ जनाले पाए हिमाल आरोहणको स्वीकृति

हिउँदे सिजनका लागि ४५ जनाले पाए हिमाल आरोहणको स्वीकृति

by ईलालटिन
0 comment

काठमाडौं । जाडो मौसम (हिउँदे सिजन) मा हिमाल आरोहण गर्न चाहने कुल ४५ आरोहीले हिमाल आरोहणको स्वीकृति लिएका छन् । पर्यटन विभागको तथ्याङ्कअनुसार गत डिसेम्बर २ देखि फेब्रुअरी २ सम्म हिमाल आरोहण गर्न चाहने नेपाली टोलीसहित विभिन्न मुलुकहरुबाट आएका १० समूहले विभागबाट आरोहणको स्वीकृति लिएका हुन् । सो बापत हिउँदे सिजनमा मात्र सरकारलाई कुल ७ हजार ५ सय ८० अमेरिकी डलर अर्थात् ८९ लाख ६ सय ५ रुपैयाँ राजस्व संकलन भएको छ । जुन तथ्याङ्क गत वर्षको भन्दा निकै न्यून रहेको विभागले जनाएको छ ।  कोभिड–१९ का कारण विश्व प्रभावित हुँदा पर्यटन गतिविधि कम भई हिमाल आरोहणका लागि समेत पर्यटकहरु नेपाल आउन नसक्दा परिमाण घटेको विभागका महानिर्देशक रुद्रसिंह तामाङले रातोपाटीसँग बताए ।‘हिमाल आरोहणको र आरोही आगमनको संख्या गत वर्ष भन्दा यो वर्ष निकै कम हो । यो वर्षको हिउँदे सिजनमा मुस्किलले ४५ जनाले मात्र हिमाल आरोहण गरेका छन् । त्यसमा पनि ठूला हिमाल र बढि राजस्व संकलन हुने हिमालको त कमै आरोहण भएका छन् । यो सिजनमा सगरमाथाको त एक जनाले पनि आरोहण स्वीकृति लिएनन् । जसका कारण यो मौसममा निकै कम राजस्व संकलन हुन पुगेको छ ।’ महानिर्देशक तामाङले भने, ‘मुस्किलले यो मौसममा करिब ९० लाख राजस्व संकलन गर्न सफल भएका छौं ।’

तामाङका अनुसार कोभिड–१९ का कारण विश्व जगत प्रभावित हुँदा त्यसको नकारात्मक प्रभाव नेपाली पर्यटन क्षेत्रमा पर्न गएको हो । यद्यपि कोभिड–१९ कै प्रभावका बीच पनि नेपाली सहित ४५ जना आरोहीहरुले पर्वातारोहण गरेका छन् ।  जसमा ७ महिला सहित ३८ पुरुष आरोही रहेको विभागले जनाएको छ । गत डिसेम्बर २ देखि फेब्रुअरी २, २०२१ सम्म कुल १० समूहमा ४५ जनालाई विभागले दिएको स्वीकृतिमा ८ हजार रेन्ज मुनिका ८ ओटा हिमाल आरोहणका लागि स्वीकृति वितरण भएका छन् ।  जसमध्ये माउण्ट लुजा पिंक (५,७२६ मि) का लागि ३ जनाले र माउण्ट क्याङजिया री–२ (६,५०६ मि) का लागि एक जनाले डिसेम्बर २ मा विभागबाट स्वीकृति लिएका छन् । त्यस्तै, माउण्ट आमलंदब (६,८१४ मि) का लागि डिसेम्बर २४ र जनवरी ४, २०२१ मा ८ जनाले स्वीकृति लिएका छन् ।  यस्तै, माउण्ट सुर्मा सर्भर (६,५२३ मि) का लागि २, रोकपी (५,४६७ मि) का लागि २, मनास्लू (८,१६३ मि) का लागि १६, माउण्ट थापा पिक (६,०१२ मि) का लागि ११ र माउण्ट चुकिमा गो का लागि २ जनाले विभागबाट विभिन्न समयमा स्वीकृति लिएका छन् ।  रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com