Home समाचार ललितपुर महानगरले दियो कात्तिक नाच संरक्षण समितिलाई ५० लाख

ललितपुर महानगरले दियो कात्तिक नाच संरक्षण समितिलाई ५० लाख

by ईलालटिन
0 comment

ललितपुर ।  ललितपुर महानगरपालिकाले कात्तिक नाच संरक्षण समितिलाई रु ५० लाख हस्तान्तरण गरेको छ। महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले समितिका अध्यक्ष किरण चित्रकारलाई शनिबार कात्तिक नाच संरक्षणका लागि अक्षयकोष स्थापना गर्न सो मूल्य बराबरको चेक हस्तान्तरण गरेका छन्। कार्यक्रममा महानगरपालिकाका प्रमुख महर्जनले गत वर्ष आफूले अक्षयकोष स्थापना गर्न रकम सहयोग गर्ने वचन दिएसँगै यस वर्ष भने रु ५० लाख दिन सफल भएको बताए। ‘विष्णुपुराणमा आधारित यस नाचले जनतालाई एउटै सूत्रमा बाँधेर एकछत्रमा ल्याई मनोरञ्जन दिने भएकाले सदियौँसम्म जोगाइराख्नुपर्नेछ‘ उनले भने।यसैगरी वडा नं २१ खोकनामा नाचिने ‘रुद्रायणी नाच’ र वडा नं २९ हरिसिद्धिमा मनाइने हरिसिद्धि भवानीको जात्रा एवं नाच’ संरक्षणका लागि रकम सहयोग गर्ने योजना बनाइरहेको उनले बताए। समितिका अध्यक्ष चित्रकारले सो नाचको माध्यमद्वारा देशमा आउने विघ्नबाधा हटि शान्ति र सुव्यवस्था कायम रहने विश्वास रहँदा कोष स्थापना गर्न सहयोग पुगेको धारणा राखेका थिए।

‘यसअघि हामीलाई कोष स्थापनाका लागि पहिलोपटक नं १६ का वडाध्यक्ष निर्मलरत्न शाक्यले रु १० लाख सहयोग गरिसक्नुभयो‘ उनले भने।त्यसैगरी अझै अन्य दाताबाट पनि रकम सहयोग हुने अपेक्षा रहेको उनको मत थियो। हरेक वर्ष पाटन कृष्ण मन्दिर नजिकै रहेको ‘कात्तिक डबली’ मा सो नाच मञ्चन गर्ने गरिन्छ। सो नाच ललितपुरको मात्र नभई सिङ्गो मुलुककै राष्ट्रिय अमूर्त सम्पदाका साथै परम्परागत सांस्कृतिक जर्गेना गर्ने एक माध्यम बनिरहेको छ।कात्तिक महिनाभरि विभिन्न विधि र प्रकारका नृत्य प्रदर्शन गरिने भएकाले यस नाचलाई ‘कात्तिक नाच’ भनिएको हो। परापूर्वकालदेखि चलेको सो नृत्य यसपटक कोरोना कहरका कारण इच्छुक व्यक्तिले प्रत्यक्ष हेर्न नपाए पनि घर–घरबाटै टेलिभिजनमार्फत आनन्द लिएका थिए।विसं १६९७ पाटनका राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ यस नाच चलाएका थिए। सो नाच विश्वकै सबैभन्दा लामो नाट्य महोत्सव रहेको दाबी गरिन्छ।कात्तिक नाच प्रथमपटक पाँच तथा सिद्धिनरसिंह मल्लका छोरा राजा श्रीनिवासका पालादेखि ‘बाथःप्याखँ’ अर्थात् ‘लोक नाटक’, ‘सुदामा प्याखँ’ र ‘सुरदास प्याखँ’ थपेर १५ दिन सञ्चालन गरिएको पाटनवासी बताउँछन्।

मुलुकको ऐतिहासिक एवं सांस्कृतिक सम्पदाको उचित संरक्षण र प्रवद्र्धन गर्ने हेतुले विसं २०७० मा दुई दिन थप गरी १० दिन र त्यसपछि अर्काे दुई दिन थप गरेर १२ दिन देखाउन थालिएको जानकारहरुको भनाइ छ।यसैगरी श्रीनिवासका छोरा योगनरेन्द्र मल्लले ‘उषाहरण’ र ‘माधवानल’ दुई लीलालाई थपेर कात्तिक महिनाभरि २७ दिन सञ्चालन गरेका यस नाचमा १७ विधाको कथा वा नृत्य प्रदर्शन गरिन्थ्यो।यी विधामा सुदामा, भक्त सूरदास, माधवानर लीला, ल्यवःलाय्गु अर्थात् सुखुली तुल्यगु, च्वलेखुदाँ अर्थात् दाँखुदाँ…, कौलाखिचा, माकः सि मियेगु, खुशी छिकेगु अर्थात् जीचा, तिंखिकाँ अर्थात् छ्योँध्वग्गि, सतिवनेगु अर्थात् महामुर्ख, उषाहरण लीला, जलशयन, वराह अवतार, नृसिंह अवतार, वस्त्रहरण लीला, दधिलीला र बौद्ध अवतार लीला रहेका समितिले जनाएको छ।सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com