काठमाण्डौँ । चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षाको लागि अनलाइन फाराम भर्न प्राविधिक समस्या आउँदा सेवाग्राही समस्यामा परेका छन् । यातायात व्यवस्था विभागले अनलाइन फाराम भर्नका लागि सर्भरमा समस्या आएपछि मरमत जारी रहेको र छिट्टै सञ्चालनमा आउने जनाएको छ । विभागले दशमहिनापछि यही पुस १९ गतेबाट वाग्मती प्रदेशमा चालक अनुमति पत्रका लागि प्रयोगात्मक परीक्षा खुला गरेको थियो । विभागका महानिर्देशक गगन हमाल र प्रधानमन्त्रीका सूचना प्रविधिविज्ञ अस्कर अलिलाई अनलाइन फारम भर्न सहज वातावरण मिलाउनुपर्ने माग गर्दै सोमबार यातायात विज्ञ देवेन्द्र प्रधान र ज्ञानेन्द्र शाहीले ध्यानाकर्षण गराएका छन् । चन्द्रागिरि नगरपालिका वडा १२ बलम्बूस्थित गुर्जुधारामा रहेको भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टरका सञ्चालक समेत रहेका प्रधानले चालक अनुमतिपत्रका लागि अनलाइन फारम भर्न सहज नभएका कारण सेवाग्राही समस्यामा परेका बताए ।
सरकारले अबलम्बन गरेको सहकारी, सार्वजनिक र निजी क्षेत्र सहभागि तीनखम्बे अर्थनीति अनुसार विसं २०७३ मा एकेडेमी स्थापना भएको थियो । ऐकेडेमीमा दुई पाङग्रे, चारपाङग्रे तथा ठूला सबै प्रकारका सवारी साधनको प्रयोगात्मक परीक्षा दिन तथा प्रशिक्षण व्यवस्था रहेको एकेडेमीका सञ्चालक रामनारायण घिमिरेले जानकारी दिए । यातायात व्यवस्था कार्यालय ठूलो भ¥याङ्का प्रमुख सञ्जय थापाले चालक अनुमति पत्रलिन अनलाइन फारामलाई व्यवस्थित गरिने जानकारी दिए । उनले भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टरको अवलोकन गर्दै कोरोनाका कारण लिखित परीक्षा पास भएका प्रयोगात्मक परीक्षा बाँकी रहेकाको एकेडेमीमा प्रयोगात्मक परीक्षा सञ्चालन हुने बताए । रातोपाटी ।