बाग्लुङ । बागलुङ जिल्लाको पर्यटन विकासका लागि यस वर्ष ६० योजना कार्यान्वयनमा आउन थालेका छन् । बागलुङमा गत आर्थिक वर्ष २०७६/७७ मा जम्मा सात वटा योजना छनोट गरे पनि आव २०७७/७८ मा ६० योजना कार्यान्वयनमा ल्याइएको गण्डकी प्रदेश सरकारले जनाएको छ । गत वर्ष सात योजनामा विनियोजन भएको रु पाँच करोड २४ लाख बजेटमध्ये कोरोनाका कारण जम्मा रु दुई करोड ४४ लाख रकम खर्च भएको थियो । गत वर्षको तुलनामा यस वर्ष पर्यटन क्षेत्रको विकासका लागि बागलुङमा ६० योजनाका लागि रु सात करोड ५५ लाख १३ हजार बजेट कार्यान्वयनमा आउन थालेको गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जानकारी दिएको छ । कोरोनाका कारण गत वर्षको बजेट कार्यान्वयनमा समस्या भए पनि यस वर्ष धमाधम योजना सम्झौता गरी काम शुरु गरिएकोे उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले बताए । उनका अनुसार भ्यू टावर (दृश्यावलोकन स्तम्भ), पदमार्ग, पर्यापर्यटन, प्याराग्लाइडिङ पूर्वाधार, घरबास अनुदानलगायतका कार्यक्रम कार्यान्वयनमा आउन थालेका छन् । “गत वर्ष कोरोना नियन्त्रणमा घरबासलाई दिइने रकम खर्च भयो, यस वर्ष छनोटका आधारमा १० घरबासले अनुदान पाउँदैछन्, धेरै योजनाको काम शुरु भएको छ”, मन्त्री लम्सालले भने, “पदमार्ग, भ्यू टावर, प्याराग्लाइडिङ पूर्वाधारलगायतका योजना म आफैँ पुगेर शिलान्यास गरेको छु, सबै योजना कार्यान्वयन सम्पन्न गरी बागलुङमा पर्यटनको विकासका लागि टेवा पुर्याउनेछौँ ।”
बागलुङको पर्यटन विकासमा प्रदेश सरकारको ६० योजना
62
previous post