काठमाण्डौँ । बेलायतमा उच्च संक्रामक र नियन्त्रण बाहिरको कोरोनाको प्रकार देखिएपछि युरोपेली देशले बेलायतमााथि धमाधम यात्रा प्रतिबन्ध लगाउन सुरु गरेको छ । आयरल्याण्ड, जर्मनी, फ्रान्स, इटली, नेदरल्याण्ड, बेल्जियमले आफ्ना सबै उडान रद्द गरेका छन् ।युरोपियन युनियनको सोमबारको बैठकले यसबारे थप निर्णय गर्ने जानकारी दिएको छ । कोरोनाभाइरसको नयाँ प्रकार लण्डन र दक्षिण पूर्वी बेलायतमा व्यापक फैलिरहेको छ । प्रधानमन्त्री बोरिस जोनसनले प्रभावित क्षेत्रमा शनिबार चौथो चरणको प्रतिबन्ध लागू गरेको छ ।
बेलायतका शीर्ष स्वास्थ्य अधिकारीले नयाँ प्रकार बढी घातक भएको कुनै प्रमाण नभेटिएको बताएका छन् । यस्तै, भ्याक्सिनले यो प्रकारको कोरोनाभाइरसमा भिन्न तरिकाले काम गर्ने नगर्ने भन्ने बारे पनि हालसम्म कुनै जानकारी नभएको बताएको छ । स्वास्थ्य सचिव म्याट ह्यानककले भाइरसको नयाँ प्रकार नियन्त्रण बाहिर भएको बताएका छन् । तसर्थ आफूहरुले यसलाई नियन्त्रणमा ल्याउनुपर्ने बताएका छन् । शनिबार बेलायतले नयाँ प्रतिबन्धको घोषणा गर्ने बित्तिकै नेदरल्याण्डले बेलायतका लागि आफ्नो सबै उडान जनवरी १ सम्म रद्द गर्ने बताएको छ । रातोपाटी ।