काठमाडौं । सर्वोच्च अदालतले कोरोना संक्रमितलाई पनि लोकसेवा आयोगको परीक्षामा सहभागी गराउन अन्तरिम आदेश दिएको छ । साथै आयोगले जारी गरेको संक्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्डको बुँदा नम्बर ८(१) को कार्यान्वयन नगर्न नगराउन भनेको छ ।
साथै आफू संक्रमित भएको स्वघोषणा गरी परीक्षा दिन नपाउने व्यवस्था गर्दा बहिस्करणमा पर्ने डरले संक्रमितले घोषणा नगर्ने र परीक्षामा सहभागी भएर अरु परीक्षार्थी, कर्मचारी र सम्पर्कमा आएका सबैलाई जोखिममा पुर्याउनसक्ने इजलासको ठहर छ । सर्वोच्चले मुद्दाको अन्तिम टुंगो नलाग्दासम्म लोकसेवा आयोगका परीक्षार्थीले कोरोना संक्रमणको स्वघोषणा गर्नुपर्ने र परीक्षामा सहभागी हुन नपाउने मापदण्ड कार्यान्वयन नगर्न भनेको छ ।
यस्तै परीक्षार्थी, परीक्षा लिने वा व्यवस्थापनमा संलग्न हुने सबैलाई सुरक्षित तरिकाले परीक्षा लिने र परीक्षा व्यवस्थापन गर्ने वातावरण बनाउन पनि सर्वोच्चले भनेको छ । साथै संक्रमितहरुलाई गोपनीयता र आत्मसम्मानको संरक्षण गर्दै आवश्यक वैकल्पिक सुरक्षित व्यवस्थासहित परीक्षा सञ्चालन गर्न अन्तरिम आदेश दिएको छ ।
