सप्तरीको डाक्नेश्वरी गाउँपालिका ७ पिपरामा सामूहिक बलात्कारमा परेकी १७ वर्षीया किशोरीलाई बलात्कारमा संलग्न व्यक्तिसँगै विवाह गराइदिने प्रयास गरिएको खुलेको छ।
गत भदौ २९ गते भएको उक्त घटना गाउँमै मिलाइएको थियो।
पीडित पक्षले सुरुमा सामूहिक बलात्कार गर्ने युवाले नै किशोरीलाई विवाह गर्नुपर्ने प्रस्ताव गरेको बयानमा उल्लेख छ।
तर स्थानीय व्यक्तिहरुको पञ्चायतले सामूहिक बलात्कार भएकाले कसले विवाह गर्ने भन्ने प्रश्न उठाउँदै रकममा मिलाउनु पर्ने भन्दै पीडित पक्षलाई दबाब दिएका थिए।

करणी गर्ने दुई जनालाई पञ्चायतले २५/२५ हजार रुपैयाँ दण्ड जरिवाना गर्ने निर्णय गरेको थियो। तर पञ्चायतले त्यस्तो निर्णय गरेको रात नै किशोरीले आत्महत्या गरेपछि घटना सार्वजनिक भएको थियो।
सरकारी वकिल कार्यालय सप्तरीले उक्त घटनामा मिलापत्र गराउने पञ्चायतका १० जना र सामूहिक बलात्कारमा संलग्न ४ जना आरोपीविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ। अदालतमा अहिले थुनछेक बहस भइरहेको छ। उनीहरुविरुद्ध बलात्कार, आत्महत्या दुरूत्साहन र कर्तव्य ज्यानसम्बन्धी मुद्दा दायर गरिएको छ।
सामूहिक बलात्कार भएको केही घण्टामै गाउँमै पञ्चायत बसेर मिलाउने प्रयास गरिएपछि किशोरीले अपमानित भएको महशुस गरी आत्महत्या गरेको देखिएको छ। बलात्कारमा संलग्न भनिएका दुवै जना १५ वर्ष मुनिका हुन्। उनीहरुमध्ये एकजना १५ वर्ष ८ महिना र अर्का १५ वर्ष २ महिनाको भएको बताइएको छ।
अन्य दुई जनाले बलात्कार प्रयास गरेको र ती बालकलाई करणी गराउन सहयोग गरेको पाइएको प्रहरी प्रतिवेदनमा उल्लेख छ।
दुई जना किशोरले पालैपालो बलात्कार गरेर उनीहरु त्यहाँबाट भागे। पछि विष्णु मण्डल र धर्मदेव मण्डल मात्रै भएपछि किशोरी भागेर घर पुगेकी थिइन्।
अभियुक्तको बयानअनुसार यसरी भएको थियो घटना
भदौ २९ गते बिहान १५ वर्ष मुनिका दुई किशोरसँगै विष्णु मण्डल, धर्मदेव मण्डल र सञ्जय मण्डल त्यहाँको एक कुटीमा भेला भए।
बिहान ८ः४० बजेको समयमा किशोरी त्यही बाटो आइन्। राम (परिवर्तित नाम) ले किशोरीलाई कहाँ हिंडेको भनेर सोधे। किशोरीले खेत जान लागेको जवाफ दिइन्।
उनीहरु पहिले देखिनै ती किशोरीलाई जिस्क्याउँथे। त्यो दिन पनि त्यसै गरे। सञ्जय कुटीबाट घर फर्किएपछि विष्णु, धर्मदेव र ती दुई किशोर मात्रै भए। सबैभन्दा कान्छा रामले प्रस्ताव राखे, ‘आज यिनलाई पालैपालो बलात्कार गरौं।’
उनको प्रस्तावमा सबैले सहमती जनाए। विष्णु र धर्मसँगै रहेका अर्का किशोर श्याम (परिवर्तित नाम) उनका दाइ पर्छन्। उनीहरु सल्लाह मिल्नासाथ किशोरीको पछिपछि खेततिर लागे।
किशोरी खेतमा पुग्नुभन्दा पहिले नै उनीहरुले भेटे। त्यतिबेला बिहानको ९ बजेको थियो। वरपर कोही मान्छे थिएनन्। त्यसपछि दाजुभाइले पालैपालो करणी गरे। राम र श्याम भने करणी गरिसकेपछि विष्णु, धर्मदेव र ती किशोरीलाई त्यहीँ छाडेर घर फर्किए।
उनीहरु घर आइपुग्दा बिहानको करिब १० बजेको थियो। उनीहरु आआफ्नो घर गए। तर घर पुगेको १०/१५ मिनेटपछि नै उनीहरुलाई ठूलो बुबाले तेरो काम छ भन्दै छिमेकी सत्रुधन मण्डलको घरमा लगे।
श्याम पनि त्यहाँ पुगिसकेका रहेछन्। उनी पुग्दा त्यहाँ मानिसहरु जम्मा भइसकेका थिए। उनीहरुसँगै गएका विष्णु र धर्मदेव मण्डललाई पनि बोलाउन पठाए र उनीहरुलाई ल्याइयो।
किशोरीलाई करणी गरेछौ भन्दै भेलाको सुरुमै राम र श्यामलाई गालि गर्दै थप्पड हानियो। उनीहरुलाई सत्रुधन मण्डलको घरमा नै राखेर साढे ११ बजे घरपछाडी आँगनमा पञ्चायत बस्यो।
पञ्चायतमा सत्रुधन मण्डल, उचितलाल मण्डल, झमेली मण्डल, बेचनदास मण्डल, वंशराज मण्डल, विदेश्वर मण्डल, सत्यनारायण मण्डल, जयकान्त मण्डल, वासुदेव मण्डल, देवु मण्डल लगायतका व्यक्तिहरु थिए।
सुरुमा किशोरीका परिवार गाउँमा मिल्न मानेका थिएनन्। उनीहरुले प्रहरी कार्यालय जाने बताए। तर गाउँमा हल्लाखल्ला भएपछि सबै भेला भए। किशोरीका परिवारलाई र किशोरीलाई पनि सत्रुधनकै घरमा लगियो।
छलफलकै क्रममा पञ्चायतमा कुरा उठ्यो, ‘अब यी किशोरीलाई यिनीहरुले नै विवाह गर्नुपर्छ।’
‘एउटाले बलात्कार गरेको भएपो विवाह गर्नु कसले गर्ने विवाह?’, बलात्कारमा संलग्नतर्फबाट केही मासिन चर्किए। पञ्चायतमा सहभागीले त्यो कुरा मानेनन्।
अन्तिममा बलात्कारमा संलग्नका तर्फबाट २५/२५ हजार रुपैयाँ पीडित परिवारलाई दिने पञ्चायतले निर्णय गर्यो। दिउँसो २ बजे पञ्चायत सकियो।
त्यसपछि सबै आ–आफ्नो घरतर्फ लागे। किशोरी पनि आफ्नो घरतर्फ लागिन्।
तर भोलिपल्ट बिहान उज्यालो नहुँदै किशोरीले आत्महत्या गरेको हल्लाखल्ला चल्यो। घटनास्थलमा प्रहरी पुग्यो। बलात्कार गरेको कारण उनले आत्महत्या गरेको भन्ने कुरा उठ्न थालेपछि दुई जना फरार भए।
असोज १ गते उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो।
के छ कानुनमा?
जबरजस्ती करणीमा सात वर्षदेखि १० वर्षसम्म कैद हुने व्यवस्था छ। तर सामूहिक रूपमा भएमा थप पाँच वर्षसम्म कैद हुन्छ।
उनीहरुविरुद्ध आत्महत्या दुरूत्साहनमा पनि मुद्दा चलाइएको छ, जसमा थप पाँच वर्ष कैदको व्यवस्था छ।
दुवै जना १५ वर्षमुनीका भएका कारण उनीहरूलाई ठहर भएको सजायको आधा सजाय मात्र हुनेछ।
प्रहरीलाई सूचना दिन रोकेको भन्दै दुई वर्ष कैद, २० हजार रूपैयाँसम्म जरिवाना र थप ५० हजार रुपैयाँ जरिवानाको माग गरिएको छ।
बलात्कारको घटना गाउँमै मिलाएको र प्रहरीसमक्ष जान नदिएको भन्दै पञ्चायतमा संलग्नलाई मतियारको रुपमा मुद्दा चलाइएको छ।
उनीहरुलाई आत्महत्या दुरूत्साहन र प्रहरीलाई सूचना दिन अवरोध गरेको अभियोग लगाइएको छ। आत्महत्या दुरूत्साहनमा पाँच वर्षसम्म कैद र ५० हजार रूपैयाँ जरिवाना माग गरिएको छ।
प्रहरीलाई सूचना दिन अवरोध गरेकोमा थप २ वर्ष कैद र २० हजार रूपैयाँ जरिवाना हुनु पर्ने अभियोग पत्रमा उल्लेख छ। -nepalkhabar.com