डा. गोविन्द केसी र सरकारबीच बिहीवार वार्ता हुने भएको छ ।
चिकित्सा शिक्षा क्षेत्रमा सुधारका विभिन्न ६ बुँदे मागसहित डा. केसीले अनशन शुरू गरेको २५ औं दिनमा बल्ल सरकारले उनीसँग वार्ता गर्न लागेको हो ।
तीन सदस्यीय सरकारी वार्ता टोलीको संयोजकमा शिक्षा मन्त्रालयका सचिव गोपीनाथ मैनाली छन् ।
सरकारी वार्ता टोलीका अन्य सदस्यमा स्वास्थ्य मन्त्रालका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक डा. दिलिप शर्मा रहेका छन् ।

डा. केसीका तर्फबाट डा. जीवन क्षेत्रीको संयोजकत्वमा गठित ४ सदस्यीय वार्ता टोलीमा भने नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की, पूर्व अध्यक्ष डा. अञ्जनीकुमार झा र अधिवक्ता ओमप्रकाश अर्याल सदस्य छन् ।
डा. केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र गेटा मेडिकल कलेजमा सम्पूर्ण पूर्वाधार र जनशक्ति पुर्याएर तत्काल एमबीबीएस अध्यापनको शुरूआत गर्न, २०७५ साउन १० मा भएको सम्झौता अनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गर्न, मास्कको अनिवार्य प्रयोग, सामाजिक दूरी अनिवार्य गर्दै पीसीआर परीक्षणलाई व्यापक बनाउन, वरिष्ठता मिचेर गरिएका नियुक्ति खारेज गर्न, बयलपाटा अस्पताललाई नियमित बजेटको व्यवस्था गर्न र विभिन्न अनियमितता काण्डका दोषीलाई यथाशीघ्र कारवाही र सम्पत्ति शुद्धीकरणको मुद्दा चलाउन माग गरेका छन् ।