Home Vlog जब, पर्वतका काँग्रेसीको कानमा घण्टी ठोकियो  

जब, पर्वतका काँग्रेसीको कानमा घण्टी ठोकियो  

by ईलालटिन
0 comment

सुमन जंग । भग्वानको  घरमा मात्र बजेको सुनिने घण्टी यति बेला राजनीतिमा ट्याङट्याङ गर्दै बजिरहेको छ । त्यो पनि देशैभर । ठुलो आवाजमा । हिजोसम्म अपत्यारिलो, हेपिएको र बिचरा भनिएको घण्टी जब बज्न थाल्यो अनि राजनीतिक मैदानमा आफूलाई ऐतिहासिक र विरासतले भरिएको बताउने दलहरू दुई हातले कान थुनेर कोठामा त्यो पनि सिरक ओढेर लुक्नु पर्ने अवस्था आएको छ ।

लामो कालखण्डदेखि नेपाली जनतालाई भेडा सम्झने काँग्रेस, एमाले र पछिल्लो समय परिवर्तनको हुङ्कार पिटेर रगताम्मे क्रान्ति गरेर आएको माओवादीका नेताहरू यति बेला घण्टीको चर्को आवाज सुनेर के सोच्दै होलान् ?

खैर, त्यताको चिन्ता लिन छाडौँ । अब एकै छिन पर्वतमा घण्टीको आवाज कस्तो  सुनिँदै छ, त, यसो सुनौँ है त ? देशको तीन वटा निर्वाचन क्षेत्र चितवन, तनहुँ र बारामा उपनिर्वाचन सकिएको छ । तनहुँको मतगणनाले राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले भारी मतले चुनाव जितिसकेका छन् । चितवनको त के कुरा गरौँ होला र, काँग्रेस र एमालेका उम्मेदवारले पानी भन्न पाएका छैनन् । बारामा चाहिँ घण्टीले उपस्थिति देखाउनु नै उल्लेख्य रूपमा लिनुपर्ने हुन्छ ।

आखिर पर्वतमा घण्टीको आवाज किन चर्को स्वरमा बजिरहेको छ ? अनि त्यो घण्टीको आवाज किन काँग्रेसीको कानले एकोहोरो सुनिरहेको छ ? फेरि, पर्वतका एमाले र माओवादीको कानसम्म घण्टी किन ठोकिएको छैन ? हो, सामाजिक सञ्जालमा पोखिएका विचार भनौँ वा भडास अधिकांश काँग्रेसी नेता तथा कार्यकर्ताहरूकै देख्न सकिन्छ । यसको अर्थ हुन्छ कि घण्टीको आवाज काँग्रेसीजनको कानमा मज्जाले भनौँ या नमज्जाले गुन्जी रहेको छ ।
पर्वतका काँग्रेस नेताले सामाजिक सञ्जालमा “सच्चिने कि सक्किने ?” भन्दै आक्रोस व्यक्त गरिरहेका छन् । अब सच्चिनु पर्छ भन्दै लेख्ने र बोल्ने उनीहरू कतिको सच्चिन तयार होलान् ? आसन ग्रहण नगराएको झोँकमा, बोल्न नदिएको निहुँमा वा भातृसंगठनमा पद नदिएको बहानामा काँग्रेसलाई धारे हात लाउनेहरू पनि “सच्चिने कि सक्किने” भन्दै रोइला गरिरहेका छन् । त्यती मात्र कहाँ हो र ? चुनावमा अन्त भोट हाल्न लगाउने र हाल्नेहरू पनि यति बेला बडो चिन्तामा परेको देखाउन खोजिरहेका छन् । जे होस्, यो तप्का चाहिँ घण्टी बजेकोमा ज्यादा हर्षित देखिन्छ ।

खैर, तिनका कुरा पनि छाडौँ । अब एकै छिन नेतृत्व परिवर्तनको कुरा गरौँ । धेरै काँग्रेसीजनले भन्ने गरेको चाहिँ के हो, भने परिवारवाद हाबी भयो ।  एउटै व्यक्तिले दशकौँसम्म रजगज ग¥र्यो । विरोधी स्वरहरूलाई दबाउने र समस्याहरूलाई समाधानतर्फ भन्दा बढी कार्पेट मुनी कुल्चेर हिँड्ने परिपाटी बढी भयो भन्ने छ । त्यसो भए अब के गर्ने त ? अब पर्वतमा लामो समयदेखि काँग्रेसभित्र आफूलाई अब्बल साबित गर्दै आएका अर्जुनप्रसाद जोशी अभिभावकत्वको भूमिका बस्नु पर्ने देखिन्छ । सक्रिय राजनीति भन्दा पर वैचारिक मार्गदर्शकका रूपमा सम्मानित भएर युवापुस्तालाई बाटो देखाउने काममा लाग्नुपर्ने हुन्छ ।

युवराज जोशी काँग्रेसको पार्टी सभापति छन् । मतको सबैले सम्मान गर्नुपर्ने हुन्छ । उनी चुनाव जितेर आएका हुन् । उनलाई अर्जुन प्रसाद जोशीको भाइका रूपमा मात्र हे¥यो भने अन्याय हुन्छ । अर्जुन जोशी ठिक लागेन त्यसैले युवराज पनि ठिक छैन भन्ने भाष्य गलत हो । जोशीको बारेमा अहिले त्यति धेरै लेख्न र बोल्न हतारो हुन्छ भन्ने लाग्छ । भर्खर सभापति भएर आएका छन् । त्यसैले उनका लागि बढी समय खर्च गर्न चाहन्न ।

फेरि फर्को घण्टी तिरै । घण्टीको आवाजले पर्वतमा लामो समयदेखि राजनीति गर्दै आएका काँग्रेसका कार्यकर्ताहरू उद्वेलित भएका छन् । स्वर्णिम वाग्लेको स्वतन्त्र प्रवेश र जीतले त झनै काँग्रेसीहरूमा पार्टी छाडेर स्वतन्त्रमा प्रवेश गरिहाल्ने हुटहुटी बढ्दो देखिन्छ । सायद केही दिनमा नै काँग्रेसको एक समूह स्वतन्त्र बन्दै पनि छ । मलाई लाग्छ स्वतन्त्र प्रवेश गर्न चाहनेहरू एउटा दुईटा समूह मात्र छैनन् । उनीहरूको बुझाइ के छ भने काँग्रेस र घण्टी लगभग एउटै विचारधारा बोकेको पार्टी हो । यही कारण पनि काँग्रेसीहरूमा स्वतन्त्र पार्टी काँग्रेसको वैक्लिपक पार्टीका रूपमा जर्वजस्त पार्टी नै हो भन्ने बुझाई पाउन सकिन्छ ।

अहिले हामफालेर वा विचार गरेर स्वतन्त्रमा जानेहरू के त्यहाँ टिकीरहन सक्लान् त ? यो प्रश्न चाहिँ बढो गम्भीर छ । घण्टीको आवाजले आन्दोलित भएर स्वतन्त्रमा पुगेका काँग्रेसीहरूले के साँच्चीकै देश बनाउने सपना देख्लान् त ? यहाँ चाहिँ शङ्का छ । किनभने काँग्रेसमा रहेका र स्वतन्त्रमा जाँदै गरेका अधिकांशहरूले कहिले पनि समाज बनाउने चाहना र हुटहुटी देखाएनन् । उनीहरूको एउटै भाषा थियो कि, हामीलाई नेतृत्वले पार्टीमा कुनै स्पेस दिएन । मलाई लाग्छ उनीहरूले स्वतन्त्र पार्टीमा पनि कुनै स्पेस पाउने छैनन् । त्यस दलले भातृसंगठनहरुको कुनै परिकल्पना गरेको छैन । काँग्रेसमा हुँदा पदमा टाँसिएर बसेकाहरू स्वतन्त्र दलमा पुगेपछि सदस्य मात्र भएर बस्नुपर्ने अवस्थालाई उनीहरूले कतिन्जेल थेग्लान र ? अँ साँच्ची देश बनाउने सपना र जुनुन बोकेर काँग्रेस त्यागेर विचारपूर्वक नै घण्टी बजाउन जानेहरू पनि प्रशस्त छन् है ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com