पर्वत । पर्वतमा नयाँ प्रमुख जिल्ला अधिकार र सहायक प्रमुख जिल्ला अधिकारी आफ्नो जिम्मेवारी बहन गर्न आएको दुई हप्ता हुन लाग्यो । हरेक प्रमुख जिल्ला अधिकारी सरुवा भएर आएको केही दिनमा नै पत्रकारसँग भेटघाटको कार्यक्रम राख्ने गरिन्छ ।
त्यसकै निरन्तरता अनुसार प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद आचार्य र सहायक प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेलले मङ्गलवार ३ बजेलाई पत्रकारसँग भेट्ने समय तालिका बनाउँछन् । सोही अनुसार प्रशासनका सम्बन्धित कर्मचारीले पत्रकारलाई फोनबाट त्यसै दिन बेलुका तीन बजे नयाँ सिडिओ भेट्ने कुराको जानकारी दिन्छन् ।
प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा प्रमुख जिल्ला अधिकारी आचार्य सहित सहायक प्रमुख जिल्ला अधिकारी पौडेल सशस्त्र प्रहरी बल चण्डिका गणका प्रहरी उपरीक्षक अरिबिन्द श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय पर्वतको प्रहरी नायव उपरीक्षक मधुसूदन न्यौपाने निर्धारित समय अनुसार नै पत्रकार कुरेर बसिरहेका थिए । केही पत्रकारहरू चाहिँ ३ बजे नै नपुगे पनि त्यसकै आसपासमै पुगी सकेका थिए ।
३ बजेर २० मिनेट गइसक्दा पनि पत्रकारको न्यून उपस्थित थियो । त्यसपछि बाँकी पत्रकार पनि क्रमशः एकपछि अर्को गर्दै कार्यक्रम हलमा आइपुग्छन् । सहायक प्रजिअ पौडेलले आफ्नो परिचय दिएर कार्यक्रमको सुरुवात गर्छन् । हलमा उपस्थित पत्रकारले पनि आफ्नो परिचय र सुझावहरू राख्छन् ।

प्रमुख जिल्ला अधिकारी आचार्यले पनि आफ्नो परिचय दिँदै उपस्थित पत्रकारहरूलाई समय व्यवस्थापनमा ध्यान दिन आग्रह गर्छन् । उनले हरेक सार्वजनिक ठाउँमा गरिने कार्यक्रमहरू निर्धारित समयमा नै सुरु हुनुपर्ने कुरामा जोड दिन्छन् । “समयको महत्त्व बुझेर अघि बढ्नु पर्छ । तपाईँहरूले पनि समय व्यवस्थापनलाई अलिकति ध्यान पु¥याइ दिनुहोस् भन्ने आग्रह हो ।”, उनले भने । यस भन्दा अघिका यस्ता कार्यक्रमहरूमा कुनै पनि प्रमुख जिल्ला अधिकारीले समयको महत्त्वका बारेमा कुरा उठाएका थिएनन् ।
पत्रकार भेटघाट कार्यक्रममा प्रमुख जिल्ला अधिकारी आचार्यले पत्रकारले दिएको सुझावलाई पृष्ठपोषकका रूपमा लिने र जनतालाई सेवा दिने काममा कुनै सम्झौता नगरिने पनि बताए । “जनताको सेवा प्रवाहमा कर्मचारीबाट गरिने ढिलासुस्ती र भ्रष्टाचारको कुरामा म निर्मम हुन्छु ।”, उनले भने, “बिचौलियाबाट सेवाग्राहीले सेवा लिने परिपाटीको अन्त्य गर्छु । कर्मचारी अनैतिक हुँदा समाज नैतिक बन्न सक्दैन । कर्मचारीको आचरण सुधारमा जोड दिन्छु ।”
प्रमुख जिल्ला अधिकारी आचार्यले पत्रकारहरूलाई आगामी दिनमा कुनै पनि सार्वजनिक कार्यक्रमहरूमा निर्धारित समयमा नै उपस्थित हुन गरेको अनुरोध सह्रानीय भएको पत्रकारहरूको भनाई छ ।
“पर्वतमा कुनै पनि पक्षबाट समय व्यवस्थापन हुन सकेको छैन । पत्रकार भएका हामीहरूले पनि समय व्यवस्थापन गर्दै समयको पालक बनेर अरू सङ्घसंस्था, व्यक्ति र क्षेत्रलाई पनि सचेत गराउन पर्छ । सिडिओ सरले विशेष गरेर पत्रकारलाई भन्नु भएको कुरा जायज छ । ”, नेपाल पत्रकार महासङ्घ पर्वतका अध्यक्ष सन्तोष थापा ।
अर्का पत्रकार सञ्जय रेग्मी भन्छन्, “प्रजिअ आचार्य समय व्यवस्थापनको विषयलाई लिएर गम्भीर छन् भन्ने कुरा बुझ्न सकिन्छ । यसले पर्वतका हरेक क्षत्रेमा हुने ढिलासुस्तीलाई रोक्न मदत गर्छ भन्ने लाग्छ ।” उनले हरेक व्यक्तिले अर्को व्यक्ति पनि व्यस्त हुन्छ भन्ने कुरा बुझ्न आवश्यक रहेको बताए ।