पर्वत। इलाल्टिन डटकममा हप्ता दिन अघि वन “कार्यालय जाँदै हुनुहुन्छ ? पहिले ढोकामा जुत्ता खोल्ने अनि मात्रै छिर्ने !” शीर्षकमा समाचार प्रकाशित गरेका थियौँ ।
सोही समाचार प्रकाशित भएपछि जिल्ला प्रशासन कार्यालय पर्वतले सेवाग्राहीलाई जुत्ता, चप्पल दैलोमा खोलाउने काम बन्द गरेर निर्बाध प्रवेश दिन वन कार्यालयलाई आदेश दिएको थियो ।
आज मङ्गलवार पत्रकार र नयाँ कार्यभार सम्हाल्न आएका प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीसँगको परिचयात्मक भेटघाटमा पनि जुत्ताको विषयले प्रवेश पाएको थियो ।
पत्रकारहरूको सवालको जवाफ दिँदै प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद आचार्यले कार्यालयमा जाँदा ढोकामा जुत्ता खोल्ने कुरा गलत भएको बताए । “हामीले हप्ता दिन अघि नै वन कार्यालयलाई रोक्न भनिसकेका छौँ ।” उनले भने, “सेवाग्राहीलाई ढोकामा जुत्ता चप्पल खोल्न लगाउने काम गलत हो ।”

यता सहायक प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेलले आफूलाई जानकारीमा आउने बित्तिकै वन कार्यालयमा फोन गरेर यस्तो गतिविधि रोक्नलाई आदेश दिएको बताए । “रोक्न त भनियो । कार्यान्वयन भएको छ कि छैन भन्ने कुरा हामी अनुगमनमा गएर पत्ता लगाउँछौँ । जुत्ता खोल्ने बहानामा सेवाग्राहीलाई दुःख दिन हुन्न ।”, उनले भने ।
हप्ता दिन अघि डिभिजन वन कार्यालयले सरसफाइका लागि मात्रै जुत्ता खोल्ने नियम राखेको बताएको थियो । कार्यालय सहयोगीको अभावले कार्यालय दैनिक सरसफाइ गर्न असम्भव हुने भएकाले ढोकामा जुत्ता चप्पल खोलेर प्रवेश गर्ने नियम बनाएको कार्यालयकी सूचना अधिकारी अरुणा पौडेलले बताएकी थिइन् ।
अधिकारकर्मीहरूले पनि कार्यालयमा प्रवेश गर्दा जुत्ता चप्पल खोल्ने कुरा गलत भएको बताएका थिए । मानव अधिकारकर्मी माधव पौडेलले सरकारी कार्यालयमा सर्वसाधारण जुत्ता खोलेर प्रवेश गर्नु कुनै पनि अर्थमा ठिक नभएको बताउँदै प्रश्न समेत गरेका थिए । “कार्यालय प्रमुख देउता हुन र मन्दिरमा जाँदा जसरी जुत्ता खोलेर जानुपर्ने ?”
सेवाग्राहीले पनि सरकारी कार्यालयको ढोकामा जुत्ता चप्पल खोलेर प्रवेश गर्दा असहज हुनुका साथै मनोबल घटाउने काम गरेको गुनासो गर्दै आएका थिए ।