Home जनप्रतिनिधि फलेवास नगरमा ‘ट्विस्ट’ नगर प्रमुखको सुब्बा मोहले हाकिम नै सरुवा

फलेवास नगरमा ‘ट्विस्ट’ नगर प्रमुखको सुब्बा मोहले हाकिम नै सरुवा

तिवारीले शर्मालाई काखी च्यापेपछि पौडेल नैतिक दबाबमा थिए ।

by ईलालटिन
0 comment

पर्वत ।पर्वतको फलेवास नगरपालिकाको कर्मचारी विवाद र नगर प्रमुखको हस्तक्षेपका कारण तीन हप्ता देखि चर्चामा थियो । अब त्यो चर्चा र विवाद भोलि बुधवार देखि नहुने अनुमान गर्न सकिन्छ । किनकी हिजो सोमबारको मितिमा नगर कार्यपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेलको सरुवा भएको छ । नगर प्रमुख तिवारीको नायव सुब्बा मोहले गर्दा प्रमुख प्रशासकीय अधिकृत पौडेलको सरुवा भएको कुरा छर्लङ्ग बुझ्न सकिन्छ ।

प्रमुख प्रशासकीय अधिकृत पौडेलले आफ्नो प्रशासनिक अधिकारको प्रयोग गर्दै नगरका चार कर्मचारीको जिम्मेवारी हेरफेर गरेका थिए । तर, ती मध्ये जिन्सी शाखामा कार्यरत नायव सुब्बा पाराश्वर शर्मालाई राजस्व शाखाका जिम्मेवारी दिएपछि उनी असन्तुष्ट भएका थिए । नगरप्रमुख तिवारीले शर्मालाई काखी च्यापेपछि प्रमुख प्रशासकीय अधिकृत पौडेल नैतिक दबाबमा थिए ।

केही दिन अघि मात्र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले नायव सुब्बा शर्माको सरुवा गरेको थियो । उनको सरुवाका बारेमा प्रमुख प्रशासकीय अधिकृत पौडेलले भनेका थिए, “मन्त्रालयदेखि आज नायव सुब्बा शर्माको सरुवाको पत्र नगरपालिकामा आएको छ । उहाँ पहिले मालपोत कार्यालय कुश्मामा कार्यरत हुनुहुन्थ्यो । फलेवास नगरपालिकामा चाहिँ काजमा रहँदै आएको स्थित हो । कर्मचारी विधि अनुसार चल्नुपर्ने हुन्छ । अब तीन जना कर्मचारीहरूले पनि खटाएको शाखा सम्हाल्नु हुनेछ ।”

तर, नायव सुब्बाको सरुवा भएको तीन दिन बित्न नपाउँदै प्रमुख प्रशासकीय अधिकृत पौडेलले फलेवास छाडेर जानुपर्ने भएको छ । नेपाल सरकार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अतिरिक्त समूहमा दरबन्दी कायम रहने गरी धनकुटाको पाख्रीबास नगरपालिकामा सरुवा गरिदिएको हो । कार्यालय प्रमुखले नियमित गर्ने सामान्य काममा नगर प्रमुख तिवारीले हस्तक्षेप गर्ने कार्य ठिक नभएको प्रमुख प्रशासकीय अधिकृत पौडेलको बुझाइ छ ।

“सरुवा भनेको मन्त्रालयले गर्न सक्ने सामान्य कुरा हो । यसलाई अन्यथा लिन हुन्न भन्ने हो । ”, उनले थपे, “असन्तुष्ट समूहले सरुवा गराउनु भएको होला । सामान्य विषयलाई क्षेत्राधिकार बाहिर गएर मेयर साहवले अनावश्यक हस्तक्षेप गर्नुभयो । यो भन्दा बढी मेरो भन्नु केही छैन । तीन चार दिनमै यहाँबाट जान्छु होला ।”

नगर प्रमुख तिवारी नेपाली काँग्रेसबाट निर्वाचित हुन् । उनले काखी च्यापेका नायव सुब्बा शर्मा चाहिँ नेकपा (एमाले) निकट नेपाल निजामती कर्मचारी सङ्गठनमा आबद्ध छन् । ८ महिना अघि नगरमा काम गर्न सहज होस् भनेर उनै नगर प्रमुख तिवारी र नेपाली काँग्रेसको चाहनामा प्रमुख प्रशासकीय अधिकृत पौडेललाई फलेवास नगरमा ल्याइएको थियो । तर, एकाएक प्रमुख प्रशासकीय अधिकृतको निर्णयमा हस्तक्षेप गर्दै जिन्सीमा कार्यरत नायव सुब्बा शर्माको पक्षमा नगर प्रमुख तिवारी खुलेर लाग्नुले सर्वसाधारणमाझ शङ्का पैदा गरेको छ ।

नगरपालिकाका प्रवक्ता अच्युत तिवारीले प्रमुख प्रशासकीय अधिकृत सरुवा भएको बारेमा आफूलाई आधिकारिक जानकारी नभएको बताए । “आज म धेरै व्यस्त भएँ । तपाईँको कुरा सुनेर भन्ने हो भने कर्मचारी सरुवा विषय सामान्य हो । तर केही दिन अघिको कुराले सरुवा भएको भए त्यो गलत हो ।”, उनले अघि भने, “नगरपालिकाले सरुवा गरेको भए ठ्याक्कै जानकारी हुन्थ्यो मलाई । त्यो मन्त्रालयबाट हुने कुरा हो । नगर प्रमुख र उपप्रमुखलाई सोध्दा राम्रो हुन्छ ।”

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com