Home पत्रपत्रिका खोप आउने : सरकारले होइन, व्यापारीले ल्याउने

खोप आउने : सरकारले होइन, व्यापारीले ल्याउने

by ईलालटिन
0 comment

कोभिडविरुद्ध रसियाले परीक्षण गरिरहेको खोप ‘स्पुतनिक फाइभ’ नेपाल आउने समाचार विश्वभर फैलिएको छ । सरकारी पहुँच प्रयोग गरेर एक निजी कम्पनीले व्यापारका लागि खोप ल्याउने सम्झौता गरेको छ । महामारीविरुद्धको खोप ल्याउने र निःशुल्क वितरण गर्ने जिम्मेवारीबाट सरकार पछि हटेको छ ।

रसियन खोप नेपाल आउने समाचार अमेरिकी च्यानल सिएनएनदेखि इन्डिया टुडेलगायतका भारतीय मिडियाले पनि प्रकाशित गरेका छन् । तर, नेपाल सरकारका आधिकारिक निकायहरू औचारिक रूपमा जानकार छैन ।

‘स्पुतनिक फाइभ’को प्रवद्र्धनमा काठमाडौंस्थित रसियन राजदूत एलेक्सेई नोभिकोभ सक्रिय थिए । यसबीचमा उनले मन्त्रीदेखि राष्ट्रिय सभाका अध्यक्षसम्मलाई भेटेका थिए । तर, निजी कम्पनीलाई अघि सारेर सरकार खोप ल्याउने जिम्मेवारीबाट पछि हटेको छ, जब कि महामारीविरुद्धको खोप राज्यको आधारभूत दायित्व हो ।

नेपालमा खोप सप्लाई गर्ने ‘द रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फण्ड’ सरकारी कोष हो । तर, यता निजी कम्पनीले सम्झौता गरेकोमा स्वास्थ्य मन्त्रालयका अधिकारीहरू पनि असन्तुष्ट छन् । ‘स्पुतनिक फाइभ अन्तिम परीक्षणमा छ, प्रमाणित हुन बाँकी नै छ,’ स्वास्थ्यका एक अधिकारीले भने, ‘त्यो काम नलाग्ने खोप हो भने निजीलाई पनि ल्याउन दिन मिल्दैन, काम लाग्ने हो भने सरकारले ल्याउनुपर्छ । दादुरा, पोलियोलगायतका खोप निःशुल्क दिने देशमा कोभिडको खोप किन्नुपर्ने किन ?’

उताको सरकारी कोषबाट ल्याउने खोप यताको निजी कम्पनीबाट बिक्री गर्ने तयारी छ । यो खोपको बिक्री–वितरणमा सरकार पर्दापछाडि बस्न खोजेको छ । जब कि रसियन राजदूत नोभिकोभले यसबीचमा ऊर्जामन्त्री वर्षमान पुन, पूर्वाधारमन्त्री वसन्त नेम्वाङ र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनालाई समेत भेटेका थिए । खासगरी राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनासँगको भेटमा उनले खोपको प्रवद्र्धनबारे विस्तृत संवाद गरेको जानकारी राष्ट्रिय सभा सचिवालयले नै दिएको थियो ।

रसियन फण्ड र नेपालको निजी कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सबीच सम्झौताको औपचारिक जानकारी रसियन फण्ड र रसियन दूतावासले दिएका छन् । ट्रिनिटी सप्लायर्स कम्पनीमा स्वास्थ्य क्षेत्रमा मेडिकल उपकरण खरिद गर्ने कम्पनी हो । हस्पिटेकका सञ्चालक तथा सत्तारुढ दलका नेताहरूको संरक्षण पाएका विशाल पण्डितको ट्रिनिटीमा पनि लगानी छ । -नयाँ पत्रिका दैनिकबाट

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com