Home Social चितुवा बोकेको भाइरल तस्बिरको वास्तविकता 

चितुवा बोकेको भाइरल तस्बिरको वास्तविकता 

by ईलालटिन
0 comment

पर्वत । पर्वतमा शुक्रवार बिहान एउटा गाउँमा चितुवा भेटियो । त्यसको केही छिनमा नै मान्छेले चितुवालाई बोकेर गाउँ डुलाएको भिडियो र तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल हुँदै गएको छ । पर्वत बासीहरूको साहस र बहादुरीलाई कथा बनाएर तस्बिरहरू एकपछि अर्को गदै फेसबुकमा राख्ने सिलसिला रोकिएको छैन ।

“के साँच्चीकै गाउँलेले जिउँदो चितुवा समाएका हुन् त ?” सामाजिक सञ्जालमा जिउँदो चितुवा भन्दै बोकेर खिचाएका भाइरल तस्बिरहरू प्रहरीले झुटो भएको बताएको छ । बिहान १० बजेतिर फलेवास नगरपालिका–२ थापाठानाको गहतेमा गाउँलेले चितुवा देखेर प्रहरीलाई खबर गरेपछि प्रहरी त्यहाँ पुगेको थियो ।

“हामी १० बजे आसपासमा चितुवा भएको ठाउँमा पुगेका थियौँ । बेहोस अवस्थामा रहेको चितुवा एकै छिन पछि जुरुक्क उठे पनि धानिन नसक्ने भएकाले यताउति गर्दै बारीको कान्ला मुनी खस्यो”, कार्कीनेटा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक विष्णु अधिकारीले भन्नुभयो, “त्यसको १० मिनेटपछि चितुवा म¥यो । त्यहाँ वरिपरि रहेका युवाहरूले मरेको चितुवा उचाल्दै फोटो खिच्न तँछाडमछाड नै भयो । चितुवाको मुजुलका उठाउँदा त्यस्तो बाहिरी घाउ चोट केही देखिएको छैन ।”

डिभिजन वन कार्यालय पर्वतको टोलीले घटनास्थल पुगेर मृत्यु भएको चितुवालाई कार्यालयमा ल्याइ पु¥याएको छ । कार्यालयले चितुवा बुढो भएर सिकार गर्न नसक्ने भएपछि  मरेको हुन सक्ने बताएको छ । “चितुवा चाहिँ २० केजी जतिको छ ।”, निमित्त वन अधिकृत विष्णु प्रसाद अधिकारीले भन्नुभयो, “बुढ्यौलीले सिकार गर्न सक्ने तागत नहुनु र बन जंगलमा चितुवाका लागि आहार नभेटिँदा कमजोर भएर मरेको हो भन्ने देखिन्छ ।”

एक वर्ष अघि पनि पर्वतमा बिरामी अवस्थामा रहेको चितुवाको घाँटीमा डोरीले बाँधेर बजार घुमाएको भिडिओ र तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो । उक्त चितुवालाई राष्ट्रिय प्रकृति संरक्षण कोष–जैविक विविधता संरक्षण केन्द्र सौराहामा पठाइएको थियो । चितवन राष्ट्रिय निकुञ्ज र केन्द्रका भेटेरिनरी टिम तथा वन्यजन्तु प्राविधिकहरूको उपचार र स्याहार सम्भार पश्चात् चितुवा तन्दुरुस्त भएकोले निकुञ्ज छेउको जङ्गलमा छोडिएको थियो ।

 

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com