215
“मेरो टोपी कैलाशको शिर जस्तो, हिमाली भीर जस्तो, कहिल्यै पनि झुक्न नजान्ने, कहिल्यै पनि रुक्न नमान्ने, मेरो टोपी, नेपाली भीर जस्तो, नेपाली वीर जस्तो ।” गोपाल योञ्जनका शब्द सापटी लिँदै आज टोपी दिवसको उपलक्ष्यमा सबै नेपाली मनहरूमा लाल्टिन मिडिया प्रा.लिको तर्फदेखि शुभकामना व्यक्त गर्न चाहन्छौँ ।
आज ज्यानुअरी १ विश्वभरि विभिन्न कार्यक्रम गरी अङ्ग्रेजी नयाँ वर्ष मनाइरहँदा नेपालमा र विदेशमा रहेका नेपालीहरूले शिरमा टोपी ढल्काएर टोपी दिवस मनाइ रहेका छन् । २०७० सालदेखि केही युवाहरूले सुरुवात गरेको टोपी दिवस आजका दिनसम्म आइपुग्दा हरेक नेपालीको भावनासँग जोडिन पुगेको छ । हेर्दा टोपी मात्र देखिए पनि यसलाई नेपाली कला, संस्कृति र मौलिकता जोगाउने अभियानका रूपमा लिने गरिएको छ ।
त्यसतै आज विश्वले मनाइरहेको ज्यानुअरी १ अर्थात् नयाँ वर्षको पनि सबैलाई शुभकामना दिन चाहन्छौँ । र, सँगै केही कुरा भन्न पनि चाहन्छौँ । वास्तवमा हामी नेपालीहरू हाम्रो चाडपर्व र महत्त्वका दिनहरूमा भन्दा ज्यादा आयातित पश्चिमाहरूको चाडहरूमा बढी रोमाञ्चित बन्ने गर छौँ । हामी हाम्रो वैशाख १ गतेलाई बेवास्ता गर छौँ ज्यानुअरी १ लाई महत्त्व दिन्छौँ । हामी हाम्रो शिवरात्रि, बुद्ध जयन्तीलाई बिर्सन्छौँ क्रिसमस डेलाइ भव्यताका साथ मनाउँछौँ ।
दुःखका साथ भन्नुपर्छ नयाँ पुस्ताहरू पनि जोडतोडका साथ पश्चिमा संस्कृतिमा लालायित भइरहेको छ । हाम्रो संस्कृति, परम्परा र मौलिकताका बारेमा हाम्रो सन्ततिलाई बेलैमा बुझाउन सकेनौँ भने पहिचान बिनाको नेपाली नागरिक हुनुपर्ने दिन नआउला भन्न सकिन्न ।