Home कला नेपाली चलचित्रलाई अस्कारमा सहभागिताका लागि आवेदन खुल्ला

नेपाली चलचित्रलाई अस्कारमा सहभागिताका लागि आवेदन खुल्ला

by ईलालटिन
0 comments

काठमाण्डौँ । संसारकै प्रतिष्ठित अवार्ड मानिने एकेडेमी अफ मोशन पिक्चर आर्टस् एन्ड साइन्सेस (अस्कर अवार्ड) सहभागिताका लागि नेपालको अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समितिले आवेदन खुल्ला गरेको छ । समितिले सोमबार एक विज्ञप्ति जारी गर्दै ९३औं अस्कर अवार्डमा प्रतिस्पर्धा गर्न इच्छुक नेपाली चलचित्रकर्मीले असोज १३ गतेदेखि असोजको २९ गतेभित्र नेपालको अस्कर कमिटीलाई चलचित्र बुझाउन आग्रह गरेको छ ।

हरेक वर्ष फ्रेब्रुअरीमा हुँदै आएको अस्कार अवार्ड यसपटक भने कोरोना महामारीका कारण दुई महिना पछाडि धकेलिएको थियो । यस वर्ष अप्रिल २५ का दिन लस एञ्जल्सको डल्बी थिएटरमा अस्कर अवार्ड सम्पन्न हुनेछ । महामारीकै कारण अस्करले सहभागिताका लागि केही नियममा पनि परिवर्तन गरेको नेपालको अस्कर कमिटीका अध्यक्ष विमल पौडेलले जानकारी दिए ।

अघिल्ला वर्षहरुमा कुनै पनि चलचित्र हलमा रिलिज भएर हप्ता दिनसम्म चलेकै हुनुपर्ने नियम थियो । तर, यसपटक महामारीका कारण रिलिज गर्ने समय तोकेर पनि रिलिज हुन नसकेका चलचित्रले पनि अस्कारमा सहभागिता जनाउन पाउने अध्यक्ष पौडेलले बताए । यसका लागि सम्बन्धित चलचित्रले सरकारबाट मान्यता प्राप्त सिनेमा हलबाट चलचित्र रिलिज रोकिएको पत्र बुझाउनु पर्नेछ ।

हलमा प्रदर्शन नभइ सिधै स्ट्रिमिङ साइटमा आएका चलचित्रले पनि अस्कारमा सहभागिता जनाउन पाउनेछन् । नेपालमा विमल पौडेलको अध्यक्षतामा आठ सदस्यीय इन्टरनेशनल फिचर फिल्म कार्यकारी समिति रहेको छ । जसमा राजेन्द्र शलभ, लक्ष्मीनाथ शर्मा, प्रदीप उपाध्याय, लोकेन्द्र पराजुली, राजुबिक्रम थापा, चिरञ्जीवी गुरागाँई र सामीप्यराज तिमल्सेना सदस्य रहेका छन् ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
elaltin77@gmail.com
nepalkomaya77@gmail.com

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com