Home विशेष चुनावी नारामै सीमित जीर्ण दोबिल्ला पुल

चुनावी नारामै सीमित जीर्ण दोबिल्ला पुल

by ईलालटिन
0 comment

पर्वत । चुनावी नारामै सीमित जीर्ण दोबिल्ला पुल I देश चुनावमय बनेको छ । राजनीतिक दलका उम्मेदवार आआफ्ना नारा बोकेर गाउँ छिरेका छन् । मतदातामा चुनावलाई लिएर खासै उत्साह देखिँदैन । विगतमा उम्मेदवारहरूले दिएका वाचा चुनाव जितेपछि सम्झन छाडेकोमा मतदातामा असन्तुष्टि छ।

“नेताहरूलाई अप्ठ्यारो लाग्दैन रहेछ”, फलेवासका सन्तोष भुसालले भन्नुभयो, “पर्वतको दक्षिण जोडने महत्त्वपूर्ण दोबिल्ला मोटरेबल पुल जीर्ण छ, मर्मत सम्भार गर्न नेतालाई धेरै पटक भनियो तर उनीहरूबाट कुनै सुनुवाइ नै हुन सकेन ।” मोदी खोलामा बनेको दोबिल्ला मोटरेबल पुलले कुश्मा र फलेवास नगरपालिकासँगै बिहादी, पैयूँ र माहाशिला गाउँपालिकालाई जोड्ने काम गरेको छ । पुल बन्नु पहिले यहाँका स्थानीयवासी अन्यत्र जिल्ला स्याङ्जा र कास्की भएर सदरमुकाम कुश्मा आइपुग्नुपर्ने बाध्यता थियो ।

“तत्कालीन समयमा पर्वतको ५५ गाविसमध्ये ३४ दक्षिण भेगमा पर्थ्यो”, रानीपानीका हरि न्यौपानेले भन्नुभयो, “कुश्मा पुग्न दुई दिनको बाटो, त्यो पनि अर्को जिल्ला भएर जानुपर्ने हुन्थ्यो, पछि दोबिल्लामा गाडी गुड्ने पुल र सडकको सहज पहुँच पनि बढ्यो ।”

नेपालमै नमूना सस्पेण्डेड मोडलमा निर्माण गरिएको यस पुलको भार वहन क्षमता १५ टन हो । तर डोजर, लोडर, बालुवा, गिट्टी बोक्ने टिपर लगायतका सवारीसाधन गुड्ने हुँदा पुल जोखिमपूर्ण बन्दै गएको स्थानीयवासीको गुनासो छ । “पुलका नटबोल्ट खुस्किएका छन् । पुलमा रहेका पाता उप्किएका, भासिएका र ठाउँ ठाउँमा खिया लागेको छ”, स्थानीय गौरव जिसीले भन्नुभयो, “केही समयअघि पुलमा बिछ्याइएको फलामका पाताले धान्न नसक्दा टिपर दुर्घटनामा परेको थियो । धेरै पटक फलेवास र कुश्मा नगरपालिकामा मर्मत गर्न आग्रह ग¥र्यौ, तर, सुन्ने कसले रु”

केही महिनाअघि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले पुलको स्थलगत अवलोकन गर्नुभएको थियो । उहाँले त्यति नै बेला पुल मर्मत सम्भारका लागि आवश्यक रकम उपलब्ध गराउने समेत बताउनु भएको थियो । तर, प्रदेशको बजेटमा दोबिल्ला पुलको कुरा कतै उल्लेख गरिएन । जनप्रतिनिधि चुनिएर पनि गए । पुलमा भेटिएका जिप चालक रामबहादुर नेपालीले भन्नुभयो, “ कसैले यसप्रति चासो देखाएनन्, कति खेर पुल भत्केर खोलामा झरिने हो, ठेगान छैन ।”

जोखिमपूर्ण अवस्थामा रहेको पुल मर्मतमा तीनवटै सरकारले बेवास्ता गरेपछि अमृत जोशी स्मृति प्रतिष्ठान नेपालले दुई महिनाअघि सामान्य मर्मत गर्ने काम गरेको थियो । “हामीले सम्बन्धित निकायलाई दबाब दिन हप्ता दिन पुलका पुराना पाता फर्नेदेखि भाँचिएका फलामलाई जोडने काम ग¥यौँ, त्यसमा हाम्रो पाँच लाख रुपैयाँ खर्च भएको छ”, प्रतिष्ठानका सचिव माधव पौडेलले भन्नुभयो, “पुलको सामान्य मर्मत भन्दा पनि संरचना नै नयाँ बनाउनुपर्ने देखिन्छ ।”

कुश्मा र फलेवास नगरपालिकाबिच यस दोबिल्ला पुलमा कसले लगानी गर्ने भन्नेमा विवाद देखिन्छ । खोला वारी कुश्मा र पारी फलेवास नगरपालिका छ । “दुई नगरपालिकाले एक अर्काको मुख ताक्ने परिपाटी देखाए”, कांग्रेसका युवा नेता ठाकुर रसाइलीले भन्नुभयो, “पुलको स्वामित्व र जिम्मेवारी दुवै पालिका मिलेर लिनुपर्ने हुन्छ ।”

कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङ र फलेवास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेलले पुल मर्मतका लागि नगरपालिकाले कुनै पनि बजेट नछुटाइएको स्वीकार गर्नुभयो । दुवै जनाले जीर्ण दोबिल्ला पुल मर्मत गर्न गण्डकी प्रदेश सरकारलाई पत्र पठाउनेदेखि छलफल चलाउने काम भइरहेको बताउनुभयो । रासस

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com