पर्वत । पूर्णेश्वर माविका पूर्व विद्यार्थी सन्तोष पौडेलले आफ्ना आमा–बुवाको नाममा भूपू समाज मातहत रहने गरी एक अक्षय कोष घोषणा गर्नुभएको छ ।
पूर्णेश्वर माविमा अध्ययन गरेका पूर्व विद्यार्थीहरूको साझा संस्था पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजको ११औँ साधारण सभा तथा ७औँ अधिवेशनबाट निर्वाचित कार्यसमितिको कार्तिक ५ गते बसेको पहिलो बैठकमा पौडेलले सो कोषको घोषणा गर्नुभएको हो ।
पूर्णेश्वर माविमा अध्ययन गरी हाल अमेरिका रहँदै आउनु भएका कुश्मा नगरपालिका वडा नं. १०, वितलव, पण्डितथर निवासी सन्तोष पौडेलले सुरु रकम एक लाख पाँच हजार रहने गरी आफ्ना स्व. बुवा पदमप्रसाद पौडेल र आमा गीतादेवी पौडेलका नाममा उक्त अक्षयकोष घोषणा गर्नुभएको हो ।
सन्तोष पौडेल र अमृता सापकोटा पौडेल संरक्षक रहने उक्त अक्षयकोषको क्रमशः रकम वृद्धि गर्दै लगिने उहाँले बताउनुभयो । उक्त कोषबाट प्राप्त व्याज आम्दानीबाट प्रत्येक वर्ष जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिनेछ । साथै बैठकले कोष व्यवस्थापन तथा कार्यविधि निर्माणका लागि समाजका अध्यक्ष राजु पौडेलको संयोजकत्वमा तीन सदस्यीय समिति समेत गठन गरेको छ ।
साथसाथै कार्यसमितिको बैठकले रिक्त पदहरू क्रमशः कोषाध्यक्षमा पूर्व विद्यार्थी शर्मिला तिवारी तथा सदस्यहरूमा चोवनाथ लामिछाने र लेखनाथ सुवेदीलाई सर्वसम्मत चयन गरेको छ ।

त्यसै गरी सोही बैठकले प्रमुख संरक्षक गणेश शर्मा पौडेल र सल्लाहकार समितिमा रामचन्द्र सुवेदी (वडाध्यक्ष–पदेन), नारायणप्रसाद अर्याल (प्रधानाध्यापक–पदेन), लक्ष्मीप्रसाद पौडेल (पूर्व विव्यस अध्यक्ष–पदेन), रामचन्द्र पौडेल (विद्यार्थी समाजका निवर्तमान अध्यक्ष–पदेन) सहित पूर्व विद्यार्थी शान्त पौडेल र डा. अनिल भट्टराईलाई सर्वसम्मत चयन गरेको छ ।