पर्वत । निर्वाचन आचारसंहिता विपरीत चुनावी कार्यक्रममा सहभागी भएको भन्दै जिल्लाको फलेवास नगरपालिकाका प्रमुख गंगाधर तिवारी र कुश्मा नगरपालिकाकी उपप्रमुख स्वस्थानी रिजालसँग निर्वाचन आयोग जिल्ला निर्वाचन कार्यालय पर्वतले स्पष्टीकरण माग गरेको छ ।
फलेवास नगरपालिकाका प्रमुख तिवारी फलेवास नगरपालिका–१ कार्कीनेटामा चुनाव प्रचारप्रसारमा सहभागी भएको दृश्य एभिन्यूज टेलिभिजनबाट प्रसारण भएको भन्दै दृश्य सहितको उजुरी आएकाले त्यस बारेमा २४ घण्टाभित्रमा स्पष्टीकरण माग गरिएको कार्यालयले बताएको छ ।
यता कुश्मा नगरपालिकाकी उपप्रमुख रिजालले स्थानीय तहका मतदाताहरूलाई प्रभावित पार्ने गरी सहरी स्वास्थ्य क्लिनिकमा मेडिकल सामग्रीहरू वितरण गरेको भन्ने उजुरी परेको छ । आचारसंहिताको दफा ४ (क) र दफा ५ (ख) को प्रतिकूल हुने गरी काम गरेकाले त्यसको स्पष्टीकरण २४ घण्टाभित्रमा दिन जिल्ला निर्वाचन कार्यालय पर्वतले ताकेता गरेको छ ।
जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माका अनुसार आचारसंहिता अनुगमन अधिकृत तथा जिल्ला आचार संहिता अनुगमन समितिमा उजुरी आएपछि आचार संहिताको उल्लङ्घन भए नभएको वा नभएको भए त्यसको पुष्टि गर्ने आधार सहित स्पष्टीकरण दिन भनिएको छ ।

निर्वाचन आचारसंहिता २०७९ को दफा ५ को प्रतिबन्धात्मक वाक्यांशको ४ बमोजिम स्थानीय कार्यपालिका पदाधिकारीहरूले आफू बहाल रहेको स्थानीय तहमा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने व्यवस्थाको प्रतिकुल हुने गरी उनीहरू कार्यक्रममा सहभागी भएको प्रमाण सहितका उजुरी परेकोले २४ घण्टा भित्रमा स्पष्टीकरण माग गरिएको जिल्ला निर्वाचन कार्यालय पर्वतले बताएको छ ।