Home समाचार कास्कीका स्थानीय जनप्रतिनिधिद्वारा निजी क्षेत्रसँगको सहकार्यमा जोड

कास्कीका स्थानीय जनप्रतिनिधिद्वारा निजी क्षेत्रसँगको सहकार्यमा जोड

by ईलालटिन
0 comment

कास्की । कास्कीका नवनिर्वाचित स्थानीय तहका जनप्रतिनिधिले निजी क्षेत्रसँगको सहकार्यमा पालिकामा समृद्धि र विकासका काम अघि बढाउने बताएका छन् । पोखरा उद्योग वाणिज्य सङ्घको आयोजनामा बुधबार आयोजित नवनिर्वाचित जनप्रतिनिधिको सम्मान एवं अन्तरक्रियामा वक्ताहरूले निजी क्षेत्रसँगको सहकार्यका माध्यमबाट अघि बढ्ने र लगानीमैत्री वातावरण निर्माण गर्ने बताए ।

नवनिर्वाचित जनप्रतिनिधिलाई निजी क्षेत्रका एजेण्डाबारे जानकारी गराउने, सहकार्य र सम्भावनाका क्षेत्र पहिचान गर्ने उद्देश्यले सम्मान तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको सङ्घका अध्यक्ष नारायण कोइरालाले बताए ।
कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, मादी गाउँपालिकाका अध्यक्ष देवीजङ्ग गुरुङ, रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा, माछापुच्छे« गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङ, उपाध्यक्ष सीता अधिकारी तथा पोखराका वडाध्यक्षहरूलाई सम्मान गरिएको थियो ।

-प्रमुख आचार्यले महानगरको सबैभन्दा ठूलो चुनौती सुशासन कायम गर्नु रहेको उल्लेख गर्दै आउँदा केही दिनभित्रै महानगरले एउटै ढोकाबाट सबै सुविधा दिने उद्घोष गरे । उनले करको दर परिवर्तन गर्न आफू तयार रहेको बताए। -मादी गाउँपालिकाका अध्यक्ष देवीजङ्ग गुरुङले कृषि र पर्यटनको माध्यमबाट समृद्धिको परिकल्पना गरेको उल्लेख गर्दै सो क्षेत्रमा लगानी गर्न व्यवसायीलाई आग्रह गरे । रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले गाउँपालिकाले भूमि बैंक स्थापना गरेको र त्यही बैंकमार्फत कृषि कर्म गर्न चाहने व्यवसायीलाई जग्गा उपलब्ध गराउने बताए ।

पोखरा उद्योग वाणिज्य सङ्घ तथा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले चक्रपथ विस्तारमा ध्यान दिन आग्रह गरे । नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य बाबुराम गिरीले पोखरामा सम्पत्ति कर अन्य पालिकाको भन्दा महँगो भएको गुनासो गर्दै लगानीमैत्री वातावरण निर्माण तथा कृषिको व्यावसायिकरणमा लाग्न आग्रह गरे । पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण कोइरालाले पोखरा महानगरले एउटै ढोकाबाट कर तिर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोडदिए। कार्यक्रममा पोखरा उद्योग वाणिज्य सङ्घका उद्योगतर्फका उपाध्यक्ष गोकर्ण कार्की, महासचिव सुरेन्द्रमान विजुक्छेलगायतले निजी क्षेत्रसँगको सहकार्यमा जोडदिए । रातोपाटी ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com