बागलुङ । स्थानीय तह निर्वाचनमा बिभिन्न पदमा उमेद्वार बनेका पत्रकार महासंघ बागलुङका चार जना साधारण सदस्यको सदस्यता खारेज भएको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको बैठकले उनीहरुको सदस्यता खारेज गरेको हो ।
जेठ १५ गते महासंघका अध्यक्ष विपुल पोख्रेलको अध्यक्षतामा बसेको बैठकले स्थानीय तहको निर्वाचनमा महासंघका सदस्यता लिएका करिव २०० जना पत्रकारले उम्मेदवारी दिएको भन्दै उनीहरुको सदस्यता कायम नरहने निर्णय गरेको छ । देशभरबाट उमेद्वारी दिएकामध्ये ८१ जना निर्वाचित भएका छन्भने बागलुङबाट उमेद्वार बनेका चार जनामध्ये तीन जना निर्वाचित भएका छन् ।
पत्रकार महासंघ बागलुङ शाखाको साधारण सदस्य रहेका राज थापा, राम बहादुर जिसी, राजु खड्का र कृष्ण प्रसाद सापकोटाको सदस्यता खारेज भएको हो । थापा गलकोट नगरपालिका–७ मल्मको वडाध्यक्षमा निर्वाचित भएका छन् । बागलुङ नगरपालिका–२ को वडाध्यक्षमा उमेद्वारी दिएका जिसी पराजीत भए । निकटतम प्रतिद्वन्दी बनेका जिसीको पनि सदस्यता खारेज भएको छ ।
बागलुङ नगरपालिकाको उपप्रमुखमा निर्वाचित राजु खड्का र वडा नं. ६ को वडा सदस्यमा निर्वाचित कृष्ण प्रसाद सापकोटाको पनि सदस्यता खारेज भएको हो । महासंघको सदस्य रहेका संघीय, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरूको महासंघको सदस्यता स्वतः खारेज हुने बैठकले निर्णय गरेको छ ।

स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेका केन्द्र, प्रदेश र शाखाको पदाधिकारी तथा कार्यसमिति सदस्यहरू स्वतः पदमुक्त हुन गएकोले विधानको व्यवस्थाअनुसार गर्न गराउन बैठकले केन्द्र, प्रदेश र शाखालाई सूचित गर्ने निर्णय गरेको महासचिव रोशन पुरीले बताए । बैठकले विभिन्न सञ्चार प्रतिष्ठानमा विद्यमान श्रम समस्या समाधानका निम्ति सशक्त ढंगबाट अगाडि बढ्ने निर्णय गरेको छ । त्यसका लागि सम्वाद, छलफल, कानुनी प्रक्रिया र संघर्षका कार्यक्रमलाई एकसाथ लैजाने निर्णय गरेको छ ।