पर्वत । भारतीय राजदूतावास काठमाडौंका प्रथम सचिव करुण वन्सलले पूर्णेश्वर माध्यमिक विद्यालय, कुश्मा १०, पिपलटारी, वितलवमा नवनिर्मित कम्प्युटर भवनको समुद्घाटन गरेका छन् ।
भारत सरकारको आर्थिक सहयोगमा निर्मित सो कम्प्युटर भवनको एक कार्यक्रमका बिच प्रमुख अतिथि वन्सलले समुद्घाटन गरेका हुन् ।
भारत सरकारको करिब दुई करोड ३१ लाखको आर्थिक सहयोगमा पूर्णेश्वर माविमा कम्प्युटर भवन निर्माण सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथि वन्सलले आफूले भवनको समुद्घाटन गर्न पाउँदा अत्यन्त खुसी लागेको बताउँदै यो परियोजनाले दुई देशबिचको मैत्रीपूर्ण सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरे ।
उनले भारतीय सरकारले यस्ता किसिमका सहयोग नेपाल सरकारलाई उपलब्ध गराइरहने विश्वास दिलाएका छन् । साथै वन्सलले पूर्णेश्वर माविमा सञ्चालित प्राविधिक शिक्षातर्फ थप सहयोग गर्न आफू प्रतिबद्ध रहेको धारणा समेत व्यक्त गरेका छन् ।

त्यस्तै विशिष्ट अतिथि कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमान सिंह गुरुङले पूर्णेश्वर मावि जिल्लाकै अब्बल विद्यालय रहेको बताउँदै यसको थप शैक्षिक प्रगति र उन्नतिमा आफूले सधैँ सहयोग गरिरहने प्रतिबद्धता जनाएका छन् ।
कार्यक्रममा विव्यस अध्यक्ष तथा शैक्षिक, सामाजिक अगुवा गणेश शर्मा पौडेलले विद्यालयको पृष्ठभूमि बताउँदै पूर्णेश्वर मावि जिल्लाको मात्र नभई यस क्षेत्रकै अग्रणी शैक्षिक धरोहर रहेको बताएका छन् । उनले भारत सरकारको सहयोगमा निर्मित भवन र कम्प्युटर ल्याबले विद्यालयको भौतिक र शैक्षिक गुणस्तर अभिवृद्धि गर्न सहयोग पुगेकोमा खुसी व्यक्त गर्दै सहयोगका लागि भारतीय सरकार र भारतीय राजदूतावासलाई धन्यवाद व्यक्त गरे । कार्यक्रममा नगर शिक्षा अधिकृत विष्णु तिवारी र विद्यार्थी शान्ति नेपालीले मन्तव्य राखेका थिए ।
कार्यक्रमका अध्यक्ष पौडेलले विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न तथा डिप्लोमा इन सिभिल इन्जिनियरिङका लागि ३२ सिटे गाडी, सुविधा सम्पन्न छात्रावास, कम्पाउन्ड वाल निर्माण र सिभिल इन्जिनियरिङका लागि आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउन प्रमुख अतिथि मार्फत भारतीय सरकार र भारतीय दूतावासमा मानपत्र पेस गरेका थिए । विद्यालयका प्रधानाध्यापक नारायण अर्यालले स्वागत र उक्त कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक सन्तोष पौडेलले गरेका थिए ।