Home राजनीति जित निश्चित हुँदा बालेनले भने: तपाईँ रहेकै क्षेत्रमा ‘धन्यवाद र्‍याली’ गर्नु होला

जित निश्चित हुँदा बालेनले भने: तपाईँ रहेकै क्षेत्रमा ‘धन्यवाद र्‍याली’ गर्नु होला

by ईलालटिन
0 comment

काठमाडौँ  । काठमाडौँ महानगपालिको मेयरमा जित निश्चित गरेका बालेन्द्र शाह (बालेन) ले सम्पूर्ण मतदाताहरूलाई धन्यवाद व्यक्त गरेका छन्। बालेनले आज सामाजिक सञ्जालमा लेखेका छन्, ‘स्थानीय तह निर्वाचन २०७९ मा हामीलाई मत दिने, समर्थन गर्ने तथा निर्वाचन प्रक्रियामा सामेल हुने सबैलाई धन्यवाद छ। अहिले यति भन्न सकिन्छ कि, हामी काठमाडौँ महानगरको जिम्मेवारी बोक्न योग्य छौँ भनेर महानगरका मतदाताहरूले हामीलाई विश्वास गर्नु भएको छ। यहाँ विश्वासको कुरा छ। विश्वासमा जीत वा हार हुँदैन।’

काठमाडौँ महानगरपालिकामा मेयर पदमा उम्मेदवार दिएका बालेन मत गणनाको  अग्रस्थानमा थिए। उनले नेपाली काँग्रेसका उम्मेदवार सिर्जना सिंह र एमालेका केशव स्थापितलाई भारी मतले पछाडि पार्दै जित नजिक पुगेका हुन्।

बालेनले लेखेका छन्, ‘जीत-हारलाई मतगणना सकिएसँगै सकिदिऊँ। घोषणापत्रमा भएका कुराहरू लागू गर्न सकेका दिन सबै मिलेर विजय उत्सव मनाउँला। तर अहिले विजय जुलुस भनेर अरूलाई पराजित भन्ने सङ्केतसम्म पनि नगरौँ। यसै पनि चुनावमा जित्नेले धेरै मत ल्याउने हो, बहुमत होइन। मेरो स्वयमको पनि बढिमा ३५ प्रतिशत मत आउला। यसको अर्थ हो, बदर मतहरू बाहेक बाँकी ५० प्रतिशत जति मतदाताहरूले अरूलाई छनौट गर्नु भएको छ। हामीलाई मत हाल्ने ३५ प्रतिशतको शिर उँचो पार्दै गर्दा बाँकी ५० प्रतिशतको शिर निहुराउनु पर्ने काम वा सङ्केत भएको छ कि भन्नेमा ध्यान दिनु पर्छ। र, महानगरको उन्नतिका लागि सबैसँग सहकार्य गर्नु नै पर्छ।

दोस्रो, ठाउँ ठाउँबाट र्‍यालीका लागि काठमाडौँ आउने कुराहरू एकदमै धेरै सुनिरहेका छौँ। हाम्रो अनुरोध के हुन्छ भने तपाईँहरू कोही पनि र्‍यालीका लागि काठमाडौँ आउने दुख गर्नु पर्दैन। यो अभियान सबैको हो। यसको स्वामित्व हरेक नेपालीले जहाँबाट जसरी पनि लिइदिए हामी खुसी हुनेछौँ।

अभियानको अहिलेसम्मको सफलताका लागि खुसीयाली प्रकट गर्ने नै हो भने पनि तपाईँ रहेकै क्षेत्रमा ‘धन्यवाद र्‍याली’ गर्नु होला। त्यसले सो स्थानमा बढी प्रभाव छोड्छ। नेपालमा बालेन मात्रैको यो अभियान होइन, यो नेपालभरको अभियान हो भन्ने सन्देश जान्छ। ‘बालेन’हरूका लागि देशभरका नागरिक साथसाथै रहन्छन् भन्ने देखिन्छ। यहाँ पनि यस्तो किसिमको चेतना र अभिमत रहेछ भनेर प्रोत्साहन हुनेछ।

अबको बाटो सहज छैन। हाम्रो अभियानको वास्तविक परीक्षा अब सुरु हुनेछ। हामीले हिँड्ने सही बाटो, चाल्ने उपयुक्त कदम र गर्ने अधिकतम सत्प्रयासहरूले हाम्रो अभियान र महानगरको उन्नतिलाई प्रभाव पार्नेछ।

हामीलाई साथ र सुझाव जति महत्त्वपूर्ण छ, उति नै खाँचो पर्नेछ खबरदारीको। हामीले बाटो बिराउन लाग्यौँ भने खबरदारी गर्नुहोला। अनि हाम्रो अभियानको ऊर्जाको लागि हामी सधैँ तपाईँहरूसँग जोडिरहेका हुन्छौँ। तपाईँहरूको उपस्थिति र साथको आवश्यकता महसुस हुने बित्तिकै हामी आवाज दिनेछौँ।

अहिलेलाई यो अभियानलाई देशव्यापी बनाउने प्रयास गरौँ। हरेक टोल टोल र गाउँ गाउँमा ‘बालेन’हरू भेटिउन् जसले केवल जनमतका आधारमा परिवर्तनको जिम्मेवारी बोक्न सकुन्, अवसर पाउन सकुन्। अबको हाम्रो पहिलो यात्रा काठमाडौँको मुहार फेर्नलाई हुनेछ। मिलेर अगाडी बढौँ।’

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com