Home समाचार पोखराको आकाशमा खुला प्याराग्लाइडिङ प्रतियोगिता सुरु

पोखराको आकाशमा खुला प्याराग्लाइडिङ प्रतियोगिता सुरु

by ईलालटिन
0 comment

पोखरा ।  प्याराग्लाइडिङ व्यवसायीको छाता संस्था नेपाल हवाई खेलकुद संस्था (ना)को आयोजनामा पोखरामा २० औँ नेपाल खुला प्याराग्लाइडिङ प्रतियोगिता सुरु भएको छ । पोखरा महानगरपालिका–१८ सराङकोटमा गण्डकी प्रदेशका प्रदेशसभा सदस्य राजीव पहारीले प्यारा पाइलट शिव थापालाई ग्लाइडर हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गरेका हुन् । सांसद पहारीले साहसिक पर्यटनका लागि उपयुक्त गन्तव्यका रुपमा रहेको जनाउँदै यस प्रतियोगिताले पोखरालाई साहसिक शहरको रुपमा चिनाउन थप सघाउ पु¥याउने विश्वास व्यक्त गरे ।

उनले अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन पश्चात प्याराग्लाइडिङ विस्थापित हुने चिन्ता व्यवसायीमा रहेको जनाउँदै यसको उचित व्यवस्थापन आवश्यक रहेको बताए  । पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले पोखराको प्राकृतिक सौन्दर्य हिम शृङ्खला र तालको सुन्दरतालाई दृश्यवालोकन गरेर आनन्द लिन सकिने प्याराग्लाइडिङले पोखराको पर्यटन प्रर्वद्धनमा ठूलो भूमिका खेलेको बताए । उनले कोभिड–१९ ले सुस्ताएको पर्यटन क्षेत्रमा विशेष सहुलियत प्याकेजसहित प्याराग्लाइडिङ उडान गरेपछि आन्तरिक पर्यटकको चहलपहल निकै बढेको स्मरण गर्दै प्रतियोगितालगायत प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिनुपर्ने बताए ।

प्रतियोगितामा सोलो ओभर अलतर्फ ३२ पुरुष र आठ महिला तथा टेन्डमतर्फ ३७ खेलाडीबीच प्रतिस्पर्धा भएको र आज बाँकी खेलबीच प्रतिस्पर्धा हुने  संस्थाका महासचिव बलराम आचार्यले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा ७७ प्रतियोगी छन् । त्यसमा आठ महिला पाइलट रहेका छन् । प्रतियोगिताको अन्तिम दिन यही चैत २५ गते विभिन्न सांस्कृतिक वेषभूषासहित पाइलटले कौशल प्रदर्शन गर्नेछन् भने सोही दिन प्रतियोगितामा निकै आकर्षक मानिने एक्रोवेटिक एयर शोसमेत हुने उनको भनाइ छ ।

पोखरामा व्यावसायिक-रुपमा सञ्चालन भएका ६० भन्दा बढी कम्पनी रहेको र करिब ३६६ प्याराग्लाइडिङ पाइलट रहेको ना अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिए । उनले कोभिड–१९ का कारण दुई वर्ष प्रतियोगिता स्थगित भएको जनाउँदै यस प्रतियोगिताले पर्यटन पुनरुत्थानमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । -प्रतियोगिता नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ सङ्घ र नेपाल प्याराग्लाइडिङ पाइलट क्लबको सहयोग र नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशले प्रवद्र्धन गरेको हो । उक्त प्रतियोगितामा ‘एक्युरेसी’ तर्फ मात्रै प्रतिस्पर्धा हुनेछ । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com