पर्वत । जलजला गाउँपालिकाको मल्लाज स्थित ऐतिहासिक ‘मल्लाज दरबार’ले नयाँ स्वरूप पाएको छ । लामो समयदेखि खण्डहर जस्तै रहेको दरबारमा मर्मत सम्भार पछि पर्यटकीय आकर्षणको केन्द्र बिन्दु बन्न पुगेको छ ।
नेपाली सेनाका तत्कालीन कर्णेल तेजबम मल्लले १९१८ सालमा निर्माण गरेको हुँदा यस दरबारलाई कर्णेलको दरबार भनेर पनि चिन्ने गरिन्छ । राणाकलामा राजा सुरेन्द्रविक्रम शाहले कर्णेल तेजबमलाई उल्लेखनीय कार्य गरेको भन्दै ‘त्यस क्षेत्रको राज्य गर्नू’ भनी करिब ५० रोपनी क्षेत्रफलको जग्गा बिर्ताका रूपमा दिएका थिए ।
कर्णेल तेजबमले सोही समय करिब २२ रोपनी क्षेत्रफलमा यस दरबारको निर्माण गराएका हुन् । उनको मृत्युपछि सन्तानहरू यहाँ बसेनन् । जसका कारण यस दरबार खण्डहरका रूपमा परिणत हुँदै गएकोमा अहिले भने उनका पनाति मुकुन्द मल्लले दरबारको पुनर्निर्माण गराएका हुन् ।
उनले दरबारको ऐतिहासिक महत्त्वलाई संरक्षण गर्दै आगामी पुस्तालाई इतिहासको बारेमा बुझ्न सजिलो होस् भनेर यस दरबारलाई रिसार्टको रूपमा अघि बढाएका हुन् । दरबार हेर्नका लागि स्थानीय देखि विभिन्न जिल्लाका पर्यटकहरू आउने गरेका छन् । यति बेला भने कोरोनाको कारण दरबार प्रवेशमा रोक लगाइएको छ ।
पर्वतको पहिचानका रूपमा रहेको यस दरबारमा सदरमुकाम कुश्मादेखि गाडीमा झन्डै ४५ मिनेटको यात्रापछि पुग्न सकिन्छ ।