पर्वत । सदरमुकाम कुस्मामा रहेको बाल मन्दिर प्राथमिक विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा सुइटर वितरण गरिएको छ । सदरमुकाम कुस्मामा रहेको श्री नारायण माविमा अध्ययनरत २०५९÷६० एसएलसीका विद्यार्थीहरूको समूहले बाल मन्दिर प्राथमिक विद्यालयमा अध्ययनरत एक सयको सङ्ख्यामा रहेका विद्यार्थीहरूलाई सुइटर वितरण गरेका हुन् ।
नारायण माविमा अध्ययनरत २०५९÷६० एसएलसी समूहको यस अघि पनि नारायण माविमा अध्ययनरत एक सय विद्यार्थीहरूलाई सुइटर वितरण गरिसकेको छ । देश तथा विदेशमा रहेको विद्यार्थीहरूले सामूहिक रूपमा पैसा सङ्कलन गरेर न्यानो कपडा वितरण गरेका हुन् । एसएलसी समूहको तर्फबाट विजय चापागाईँले नेतृत्व गरेका हुन् । उनी सँगै बिराज गुरुङ, विरास श्रेष्ठ, सरस्वती आचार्य र सङ्गीता आचार्यको उपस्थित रहेको थियो ।
आगामी दिनमा सदरमुकामका विद्यालयमा सीमित नभई दूर दराजका गाउँमा गएर पनि सहयोग सञ्चालन गरिने विजय चापागाईँले बताए । साथै उनले साथीहरूको सहयोगमा जाडोमा रहेका विद्यार्थीहरूलाई थोरै भए पनि न्यानो दिन पाएकोमा खुसी व्यक्त गरे । पहिले नै सुइटर वितरण गरिसक्नुपर्ने भए पनि लकडाउनका कारण थोरै ढिलाइ हुन पुगेको क्षमा याचना समेत गरे ।
यस्तै कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विपिन गुरुङले आफ्नो विद्यालयमा आएर न्यानो कपडा सहयोग गरिदिएकोमा धन्यवाद व्यक्त गरे । उनले यस विद्यालयमा गरिब तथा दलित समुदायका विद्यार्थीहरू बढी अध्ययनरत रहेको हुँदा यस्ता कार्यक्रमले विद्यार्थी र अभिभावकका लागि पनि राहत मिल्ने गरेको सुनाए ।

विद्यालयका प्रधानाध्यापक लोक बहादुर राना मगरले विद्यार्थीको शैक्षिक गुणस्तरमा सहयोग पुग्नेमा आशा व्यक्त गरे । जाडोमा न्यानो कपडा नभएकै कारण धेरै विद्यार्थीहरू विद्यालय आउन नसक्ने अवस्थालाई यस्ता कार्यक्रमहरूले राहतका साथमा विद्यार्थीहरूले अध्यनमा पनि निरन्तरता दिन सहयोग मिल्ने बताए ।