काठमाडौं । परराष्ट्र मन्त्रालयले अमेरिकी सहयोग परियोजना एमसिसी स्वीकार्ने कि अस्वीकार गर्ने भन्ने निर्णय सार्वभौम संसदले गर्ने बताएको छ। आइतबार एक विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले नेपालको विकासमा विकास सहायताले महत्वपूर्ण भूमिका खेलेको तथ्य उल्लेख गर्दै अन्तर्राष्ट्रिय समुदायको सहयोगका लागि कृतज्ञता व्यक्त गरेको छ। नेपालले सधैं स्वतन्त्र, सन्तुलिन र असंलग्न परराष्ट्र नीति अवलम्बन गर्दै आएको छ। यो नीति अवलम्बन गर्न एउटा सार्वभौम देशका नाताले नेपालले आफ्नो राष्ट्रिय आवश्यकता र प्राथमिकताका आधारमा विकास सहायता प्रयोग र स्वीकार गर्दै आएको छ।
नेपालको विकास र पूर्वाधारमा विकास सहायताले महत्वपूर्ण भूमिका खेलेको छ,’ परराष्ट्रको विज्ञप्तिमा भनिएको छ,‘ हाम्रा छिमेकी र परम्परागत रूपमा बलियो सम्बन्धसँगै सहकार्य र सहयोग भएका क्षेत्रीय र बहुपक्षीय विकास साझेदारप्रति उनीहरूको निरन्तर सहयोगका लागि नेपाल सरकार कृतज्ञ छ। विकास सहायता स्वीकार्ने निर्णय हाम्रो राष्ट्रिय हित र प्राथमिकताका आधारमा लिने गरिएको परराष्ट्रको भनाइ छ।‘सार्वभौम संसदले नेपाल र नेपालीको उच्च हितका लागि कुन विकास सहायता चाहिन्छ भन्ने निर्णय गर्छ,’ विज्ञप्तिमा भनिएको,‘हाम्रा मित्रहरूको सद्भाव जारी रहनेछ भन्ने हाम्रो आशा छ।’ आइतबारको संसद बैठकमा एमसिसी सम्झौता अनुमोदनका लागि टेबल भएको छ। फागुन १२ गते बस्ने अर्को बैठकमा यसबारे छलफल सुरू हुनेछ। सेतोपाटी ।