Home समाचार गण्डकी बहुप्राविधिक शिक्षालयको भवन निर्माण सुरु

गण्डकी बहुप्राविधिक शिक्षालयको भवन निर्माण सुरु

by ईलालटिन
0 comment

पोखरा । बजारको मागका आधारमा दक्ष प्राविधिक जनशक्ति उत्पादनको लक्ष्यसहित पोखरा महानगरपालिकाले स्थापना गरेको ‘गण्डकी बहुप्राविधिक शिक्षालय’को आफ्नै सुविधासम्पन्न भवन निर्माण सुरु गरिएको छ । महानगरले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीइभिटी)को साझेदारीमा अहिले पोखरा–२९ को जनप्रकाश माध्यमिक विद्यालयमा शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेकामा सोही वडाको खल्याणमा आधुनिक भवन निर्माणका लागि शनिबार शिलान्यास गरी काम सुरु गरिएको हो ।

रु ११ करोड ४२ लाख लागतमा निर्माण हुने भवन आगामी विसं २०८०  फागुन २९ गतेसम्म सम्पन्न गर्ने गरी भूमि इन्फास्ट्रक्चर प्रालिसँग ठेक्का सम्झौता भएको  महानगरका इञ्जीनियर लक्ष्मीप्रसाद गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार भवन ४० हजार ४९२ स्क्वायर फिटमा रहनेछ । सङ्घ सरकारको विशेष अनुदान र महानगरपालिकाको लगानीमा भवन बन्न लागेको हो । -गत वर्षदेखि शिक्षालयले ‘डिप्लोमा इन अटोमोबाइल इञ्जीनियरिङ’ र ‘डिप्लोमा इन सिभिल इञ्जीनियरिङ’को तीनवर्षे कोर्षको पढाइ सञ्चालन गरेको हो । सिभिल इञ्जीनियरिङ अधिकांश प्राविधिक शिक्षालयहरूमा पढाइ हुने भए पनि अटोमोबाइल पढाइ हुने कलेज तथा क्याम्पस नगन्य छन् ।

इञ्जीनियरिङ अध्ययन संस्थानअन्तर्गतको पश्चिमाञ्चल क्याम्पसमा केही वर्षअघि अटोमोबाइल विषय अध्यापन गरिए पनि हाल सोको पठनपाठन हुँदैन । विशेषगरी विपन्न, दलित, उत्पीडित समाजमा पछि परेका वर्गको क्षमता विकास, सीप तालिमको माध्यमद्वारा सशक्तीकरण गर्दै रोजगारमूलक स्वरो-जगार र उद्यमशीलताको विकास गर्न शिक्षालयले भूमिका खेल्ने शिक्षालयका निर्देशक लक्ष्मण तिमिल्सिनाले बताए । उनले आफ्नै भवन निर्माणपछि अध्ययन–अध्यापनसहित प्रशासनिक काम सहज हुने विश्वास व्यक्त गरे। तीनवर्षे कोर्षका लागि हाल शिक्षालयमा ४८ जनाको कोटा निर्धारण गरी छात्रवृत्तिको व्यवस्थासहित अध्यापन भइरहेको छ ।

शिक्षालयमा १० कोटा पूर्ण छात्रवृत्ति, छ वटा सहुलियत र ३२ कोटा खुलातर्फका रहेका छन् । यस वर्ष दुई प्राविधिक विषयको अध्यापन सुरू गरिए पनि शिक्षालयको पूर्वाधार निर्माण सम्पन्न भएपछि प्राविधिकतर्फको डिप्लोमा इन जियोमेटिक इञ्जीनियरिङ, फरेस्टी, फार्मेसी विषयमा समेत कक्षा सञ्चालन गर्ने योजना रहे-को शैक्षिक प्रमुख सरोज अधिकारीले जानकारी दिए । सांसद खगराज अधिकारीले भवन शिलान्यास गर्दै आर्थिक विकासका लागि गुणस्तरीय र प्राविधिक शिक्षा महत्वपूर्ण रहेको बताए । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com