विकल्पको बहसमा बित्यो अघिल्लो सोमबार । बिहान कृषिमन्त्री घनश्याम भुसाल नेकपा विवाद निप्ट्याउने विकल्पहरूसहित कान्तिपुरको एक पानाभरि उपस्थित थिए । त्यसै साँझ कांग्रेस महामन्त्री शशांक कोइरालाले आफ्नो पार्टीभित्र विकल्प चाहिएको भन्दै ‘फायर साइड’ मार्फत अर्को आयाम थपे । मध्यराति ट्विट गर्दै त्यो बहस टुंग्याइदिए, जसपा नेता बाबुराम भट्टराईले ।
पहिले बिहानीको कुरा । भुसालले आफ्नो लेखमार्फत शक्तिशाली कम्युनिस्ट जनाधार गुम्न नदिन के गर्ने, त्यसका विकल्पहरू पेस गरेथे । नेकपाको आन्तरिक विवादबारे विगतमा मुखर रहँदै आएका भुसालमाथि मन्त्री भएपछि बोल्नै छाडेको आरोप लाग्दै आएको थियो । युवा बुद्धिजीवी रामचन्द्र श्रेष्ठले भुसालको वैचारिकता र नेकपाको राजनीतिक ध्येयबीच नमिल्दो संगतिबारे केही साताअघि यसै पत्रिकामा प्रश्न उठाएका थिए । सम्भवतः त्यसलाई समेत जवाफ हुने गरी, अनि दुई अध्यक्षबीच ‘राष्ट्रिय सहमति’ जुटाउने सूत्र फेला पार्ने गरी भुसाल उपस्थित थिए । यसअघि उनले ‘किन मर्छन् कम्युनिस्ट पार्टीहरू’ र ‘कसरी बाँच्छ कम्युनिस्ट पार्टी’ शीर्षकमा दुई लामा लेखहरू लेखिसकेको प्रसंग धेरैलाई हेक्का होला । तत्कालीन एमालेको सातौं–आठौं महाधिवेशनदेखि नै उठाउँदै आएका मतहरूलाई भुसालले बहसका रूपमा अगाडि बढाउन खोजेको, यो लेख त्यसैको निरन्तरताका रूपमा आएको देखिन्छ ।
तर भुसालले कोरेको विकल्पको मार्गचित्र भने कस्तो दुर्गम ! उनी भन्छन्, ‘दुई अध्यक्षहरू बैठकसमेत बस्न नसकेर एकअर्कालाई दुत्कार्दै छन् । यिनको बाटो स्पष्ट छ ः एकअर्कालाई नंग्याउने र अन्ततः सबै नांगिने ।’ विधि नहुँदाको समस्या भनेर उनले यसलाई अर्थ्याएका छन् । तर त्यो त पार्टी एकता भएयता मात्रै नभएको होइन, पहिले पनि थिएन । अरू दलभन्दा विधिमा चल्ने भनिएको एमालेलाई केपी शर्मा ओलीले पछिल्ला वर्षहरूमा आफ्नो अह्रनखटनमा हाँक्न थालेका थिए । पार्टीभित्रको ‘जनवाद’ त्यसै बेला भताभुंग भइसकेको थियो । तर केही दिनअघि भूषण दाहाललाई अन्तर्वार्ता दिँदै ओलीले आफू अध्यक्ष भएयता राजनीति आफ्नो वरिपरि केन्द्रित हुन पुगेको पो उद्घोष गरिदिए । फेरि एकचोटि प्रस्ट भयो, भुसालहरूले जस्तोसुकै विधिका कुरा गरे पनि ओली त्यसलाई ‘बाल दिनेवाला’ छैनन् ।

ओलीको आत्मबल निःसन्देह सिक्नलायक छ, तर त्यसले सरकार प्रमुखको गरिमा बढाउँदैन । उनले त्यस अन्तर्वार्तामा दिएका औषधि खरिददेखि अयोध्या प्रकरणसम्मका एक–एक जवाफले भन्छन्, उनको कार्यशैली सुध्रिने गुन्जायस छैन । नेकपा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले यो पंक्तिकारसँग भने, ‘हाम्रो सम्पूर्ण प्रयास व्यक्ति (ओली) लाई सुधार्नमा खर्च भयो । अब व्यक्तिको सुधार होइन, व्यक्तिको परिवर्तन हाम्रो एजेन्डा ।’ श्रेष्ठले दृढतापूर्वक भन्न त भने, तर त्यो सजिलो देखिँदैन । किनभने ओली आफैंले नेकपा सचिवालयमा घोषणा गरिसके, ‘मलाई हटाउन खोजिए कुर्सी नै फोडिदिन्छु ।’ यहीँबाट बुझिन्छ, संस्थाको अविच्छिन्न विरासतप्रति त्यसका प्रमुख उत्तरदायी छैनन् । यसर्थ भुसालदेखि श्रेष्ठसम्मका वैकल्पिक ‘प्रेस्क्रिप्सन’ हरू कामयाब नहुने खतरा छ । प्रचण्डले थापागाउँ बैठकमा निकटस्थहरूसँग शुक्रबार ओलीको मनोदशाबारे ‘ब्रिफिङ’ गरिसकेका छन् ।
तर प्रचण्ड आफैं पनि पानीमाथि छैनन् । उनी त्यस्तो पार्टीमा तीन दशक नेतृत्व गरेर आए, जहाँ ओलीको जस्तै व्यक्तिकेन्द्रित हाइहुकुम चल्ने गर्थ्यो । प्रचण्ड परिवर्तनका एजेन्डाहरू अघि सार्दै तत्कालीन वैकल्पिक राजनीतिको केन्द्रमा आएको इतिहास कसैले उपेक्षा गर्न नसक्ला, तर नेतृत्वको अपारदर्शिताले सीमा नाघ्दा पार्टीका कमरेडहरूले नै पचाउन सकेनन् । जुन सहकर्मीहरू प्रचण्डमा ‘चामत्कारिक नेतृत्व र गतिशीलता’ रहेको भन्दै वर्षौंदेखि व्यक्तिपूजाको गजुर ठड्याइरहेका थिए, अन्ततः तिनैले उनलाई एक–एक छाड्दै हिँड्ने परिस्थिति निर्माण भयो । बाबुराम भट्टराई, मोहन वैद्य, नेत्रविक्रम चन्द आदि त्यसका दृष्टान्त हुन् । उनलाई छाडेर हिँडेका रामबहादुर थापा केही वर्षपछि फर्केर त आए, तर विश्वासको सम्बन्ध छैन । यति हुँदाहुँदै प्रचण्ड भन्दै छन्, आजको नेकपा विवाद पदका लागि नभएर विधिका लागि हो । जबकि प्रत्येकलाई थाहा छ, नेकपाका दुई पाइलटबीच नमिलेको कुरोको चुरो कुर्सीमै छ ।
ईकान्तिपुरबाट