काठमाडौं । ललितपुर महानगरपालिकाका ७ स्थानमा सूचना केन्द्र स्थापना गरिएको छ । नगर प्रमुख चिरिबाबु महर्जनको निर्देशनमा नगर प्रहरी बलले विभिन्न स्थानमा गरी ७ वटा सूचना केन्द्र स्थापना गरेको हो । महानगरभित्रका सबै चासो, गुनासो र समस्याका विषयमा जानकारी लिन र दिन सूचना केन्द्रको स्थापना गरिएको नगर प्रहरी प्रमुख सिताराम हाछथुले रातोपाटीलाई बताए ।
उनका अनुसार जावलाखेल, लगनखेल, हरिसिद्धी, धापाखेल, नखिपोट, भैंसेपाटी र सानेपामा सूचना केन्द्रको स्थापना गरिनेछ । नगर प्रमुख हाछेथुले रिङरोड भित्र ३ र बाहिर ४ वटा सूचना केन्द्र स्थापना गरिने जानकारी दिए । महानगरपालिकाले नगरभित्रका नगरबासीलाई दैनिक जीवनयापनका क्रममा भोग्नुपर्ने सम्पूर्ण समस्याहरुको जानकारी गराउन र लिन सकिने नगर प्रमुख हाछेथु बताउँछन् ।
ललितपुर महानगरले महानगरभित्र सूचना केन्द्रहरु स्थापना गर्नुपर्ने कारणहरु उल्लेख गरेको छ । ललितपुर महानगरले गरेका काम, कारबाहीबारे सर्वसाधारणलाई सहजै जानकारी गराउन पनि यस्ता सूचना केन्द्रको आवश्यकता भएको महानगरले जानकारी दिएको छ । यसैगरी, महानगरभित्रका वडा कार्यालयका विषयमा जानकारी दिन, महानगर खुल्ने, बन्द हुने समयको बारेमा जानकारी दिन, कुन शीर्षकको राजश्व कति र कहाँ तिर्नुपर्ने भन्ने विषयमा जानकारी दिन, महानगरभित्रका पर्यटकीय क्षेत्रका विषयमा जानकारी दिन, नगर प्रहरीको काम र कर्तव्यका विषयमा स्टष्ट पार्न जस्ता कुराहरु उक्त सूचना केन्द्रबाट सजिल्यै प्राप्त गर्न सकिने महानगरले उल्लेख गरेको छ ।