Home बुलेट न्युज कोरोनाको तेस्रो लहरमा १५ हजार संक्रमित गम्भीर हुनसक्ने

कोरोनाको तेस्रो लहरमा १५ हजार संक्रमित गम्भीर हुनसक्ने

by ईलालटिन
0 comment

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरसको तेस्रो लहरले हुने क्षतिलाई विश्लेषण गर्दै गम्भीर बिरामीको संख्या १५ हजार पुग्नसक्ने प्रक्षेपण गरेको छ।मन्त्रालयले पुसदेखि आउने वैशाखसम्मको कोरोनाको अवस्था आकलन गर्दै माघको दोस्रोदेखि तेस्रो साताका बीचमा संक्रमण उत्कर्षमा पुग्ने देखिएको बताएको छ।  माघमा मात्रै  डेढ लाख बढी संक्रमित थपिने मन्त्रालयको अनुमान छ। मन्त्रालयको उपचारात्मक सेवा महाशाखाका निर्देशक डाक्टर पवनजंग रायमाझीले माघको १५ तिर संक्रमण उत्कर्षमा पुग्ने उल्लेख गर्दै गम्भीर संक्रमितहरूको संख्या बढ्ने बताए।

गम्भीर संक्रमितको संख्या झन्डै १५ हजार पुग्छ भन्ने छ। त्यस्तै मध्यम लक्षण भएका संक्रमितको संख्या ४५ हजार पुग्ने भन्ने छ,’ उनले भने। उनका अनुसार यो अवधिमा कोरोनाका सामान्य संक्रमित २ लाख ४० हजार पुग्न सक्छन्। निर्देशक रायमाझीले अहिले अनुमानित बिरामीको संख्यालाई लिएर सोहीअनुसार मन्त्रालयले स्रोत व्यवस्थापन गर्ने काम गरिरहेको बताए। उनले प्रक्षेपण गरेभन्दा बिरामीको संख्या धेरै उकालो नलागे अहिले भइरहेका स्रोतले पुग्ने जनाए। अहिलेलाई अस्पतालको क्षमताले पुग्छ भन्ने छ। अक्सिजन पनि पुग्ने नै छ,’ उनले भने।दोस्रो लहर उत्कर्षमा पुगेको बेला दैनिक २० हजार सिलिन्डर अक्सिजन माग भएकोमा १० हजार सिलिन्डर मात्र पुर्‍याउन सकिएको थियो। यसपटक दैनिक ४० हजार सिलिन्डर अक्सिजनको माग पूर्ति गर्न सकिने मन्त्रालयको भनाइ छ।

डाक्टर रायमाझीले अहिले प्रदेशहरूले समेत अक्सिजन खरिद गरेको र आफ्नै प्लान्टहरू स्थापना गरेका कारण अक्सिजनको समस्या नहुने बताए।मन्त्रालयका अनुसार अहिले देशभर झन्डै १४ हजार अक्सिजन सिलिन्डर, ७ सय वटा अक्सिजन कन्सन्ट्रेटर र ४७ वटा अक्सिजन प्लान्ट छन्। लिक्विड अक्सिजन ट्यांक मात्र १९ वटा रहेको भन्दै मन्त्रालयले आवश्यकताअनुसार अक्सिजन क्षमतालाई थप बढाउन सकिने जनाएको छ। अस्पताल बेडहरूको सन्दर्भमा भने मन्त्रालयले देशभर २८ सय आइसियू र झन्डै एक हजारको हारहारीमा भेन्टिलेटर रहेको जानकारी दिएको छ। त्यस्तै करिब ४ हजार एचडियू र ८ हजार आइसोलेसन बेड रहेको मन्त्रालयको तथ्यांक छ।पछिल्लो समय ओमिक्रोन भेरियन्ट नेपालमा पनि फैलिएसँगै संक्रमितको संख्या ह्वात्तै बढेको छ। बुधबार मात्र ३ हजार ७५ जनामा संक्रमण पुष्टि भएको थियो। जबकी अघिल्लो हप्ता संक्रमितको संख्या तीन सयको हारहारीमा देखिएको थियो। ओमिक्रोन भेरियन्ट समुदायस्तरमा फैलिएपछि संक्रमण व्यापक बढेको हो।

हुन त स्वास्थ्य मन्त्रालयले आधिकारिक रूपमा अहिलेसम्म २७ जनामा ओमिक्रोन पुष्टि भएको जनाएको छ। यद्यपि अहिले फैलिरहेको संक्रमण ओमिक्रोन भेरियन्टले नै ल्याएको विज्ञहरूको दाबी छ। छिमेकी भारतमा पछिल्लो समय दैनिक लाखौं संक्रमित भेटिएको हिसाबले नेपालमा पनि ओमिक्रोन फैलिएको पुष्टि गर्छ।ओमिक्रोन भेरियन्टले नेपालमा पनि तेस्रो लहर ल्याउनसक्ने भनिएको छ। सरकारले पनि सो कुरा ठहर गर्दै भीडभाडजन्य गतिविधिमा कडाइ गरिसकेको छ। जसमा २५ जना भन्दा बढी मानिस एक ठाउँमा भेला हुन रोक लगाइएको छ। साथै पछिल्लो एक सातायता काठमाडौंका ठूला अस्पतालहरूमा कोरोनाका बिरामी भर्ना हुने क्रम बढेको छ। कोभिड-१९ केन्द्रीय अस्पतालमा डेढ साताअघि जम्मा ८ जना बिरामी  रहेकोमा अहिले ४१ जना बिरामी  उपचाररत छन्। जसमा ६ जना आइसियू र दुई जना भेन्टिलेटरमा छन्। त्यस्तै बलम्बुस्थित एपिएफ अस्पतालमा संक्रमण बढ्नुअघि ८ जना बिरामी  रहेकोमा अहिले ६० जना बिरामी भर्ना भएका छन्। यो संख्या अझै अर्को साता बढ्ने चिकित्सकहरू बताउँछन्। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com