Home बुलेट न्युज राष्ट्रियसभा निर्वाचनः बागमतीमा उम्मेदवारी दर्ता हुँदै, यस्तो छ मतभार

राष्ट्रियसभा निर्वाचनः बागमतीमा उम्मेदवारी दर्ता हुँदै, यस्तो छ मतभार

by ईलालटिन
0 comment

मकवानपुर ।  राष्ट्रियसभामा बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने २ जना सदस्यको निर्वाचनका लागि आज मनोनयन दर्ता कार्यक्रम रहेको छ । राष्ट्रिय सभामा बागमती प्रदेशबाट एक जना महिला र अन्य एक जना गरी २ जनाको पद रिक्त हुँदैछ । उक्त रिक्त पदमा आगामी माघ १२ गते हुने निर्वाचनको कार्यक्रम अनुसार आज मंगलबार मनोनयन दर्ताको कार्यक्रम तोकिएको हो ।

निर्वाचन कार्यक्रम संचालनका लागि गत बिहीबार बिहान एक कार्यक्रमको आयोजना गर्दै हेटौंडा उपमहानगरपालिका वडा नम्बर–५ स्थित प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेशको भवनमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको थियो भने जिल्ला अदालत मकवानपुरका न्यायाधीश डिल्लीरत्न श्रेष्ठलाई निर्वाचन अधिकृतको रुपमा खटाइएको छ । श्रेष्ठका अनुसार मनोनयन दर्ताको कार्यक्रम बिहान १० देखि दिउँसो ३ बजेसम्म रहेको छ । त्यस्तै २१ गते उम्मेदवारीमा दाबी विरोधको उजुरी दिने कार्यक्रम छ । यस्तै २२ र २३ गते उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने, २४ गते उम्मेदवारले नाम फिर्ता लिने कार्यक्रम तय गरिएको छ ।

२५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ भने  सोही दिन उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिने छ । आगामी माघ १२ गते विहा-न ९ बजे देखि ३ बजेसम्म मतदान कार्यक्रम संचालन हुनेछ । मतदानका लागि हेटौंडा उपमहानगरपालिका वडा नम्बर–८ मा रहेको हेटौंडा औद्योगिक व्यवस्थापन लिमिटेडको सभागृहलाई मतदान स्थल तोकिएको छ ।

यी हुन् उम्मेदवार

राष्ट्रियसभाको निर्वाचनमा बागमती प्रदेशमा सत्तारूढ पाँच दलीय गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा (एमाले) बिच प्रतिस्पर्धा हुने देखिएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा गठबन्धनमा रहेका छन् भने एमाले एक्लै चुनावी मैदानमा रहेका छ ।एमालेले बागमती प्रदेशबाट खुलातर्फ गोपाल शाक्य, महिलातर्फ निरकुमारी कुँवर (निरु) दर्लामी रहेका छन् ।गठबन्धनका तर्फबाट बागमती प्रदेशमा काँग्रेस र एकीकृत समाजवादीका उम्मेदवार रहने भएका छन् । काँग्रेसले बागमती प्रदेशमा कृष्णप्रसाद पौडेललाई उम्मेदवार बनाएको छ भने एकीकृत समाजवादीले गोमा तिमल्सिना उम्मेदवार बनाएको छ ।

त्यस्तै राष्ट्रियसभा सदस्य निर्वाचनमा नेपाल मजदुर किसान पार्टी (नेमकीपा)ले पनि उम्मेदवारी दर्ताको तयारी गरेको छ । भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिको नेतृत्वमा नेमकीपाका प्रतिनिधिहरुले उम्मेदवारी दर्ताको तयारी गरेको छ । नेमकीपाबाट पुरुष तर्फ कृष्ण बहादुर तामाङ र महिलामा गिता काफ्लेले मनोनयन दर्ता गर्ने बाग-मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोर्साइले जानकारी दिए । तामाङ यस अघि भएको राष्ट्रियसदस्यको उपनिर्वाचनमा पनि उम्मेदवार बनेका थिए । यता विवेकशील साझा पार्टी भने राष्ट्रियसभा सदस्य पदमा उम्मेदवारी दर्ता गर्ने नगर्ने भन्ने बारे अझै टुङ्गोमा पुग्न सकेको छैन । उम्मेदवारी दर्ता बारे छलफल जारी रहेको तर निर्णय भने आइनसकेको विवेकशिल साझा पार्टी बागमती प्रदेश संसदीय दलका नेता रमेश पौड्यालले रातोपाटीलाई बताए ।

यस्तो छ मतभार

राष्ट्रियसभा निर्वाचनमा स्थानीय तहका प्रमुख उपप्रमुख, अध्यक्ष उपाध्यक्ष र प्रदेशसभा सदस्यले मतदाता रहनेछन् । राष्ट्रि-यसभा निर्वाचनमा बागमती प्रदेशमा ३४६ मतदाता रहेका छन् । कुल ११९ स्थानी तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष गरी कुल २३८ जना मध्ये एक जना गाउँपालिका अध्यक्ष निलम्बनमा परेका कारण २३७ जनामात्र मतदाता कायम भएको राष्ट्रियसभा निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ ।

त्यस्तै प्रदेशसभाका कुल ११० जना सदस्य मध्ये एक जना सदस्यको कोरोनाका कारण निधन भएकाले प्रदेशसभाका १०९ जना सदस्य मात्र मतदाता कायम रहेका कार्यालयले जनाएको छ । निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्षको मतभार १८ हुन्छ । जसअनुसार निर्वाचनमा १०९ जना प्रदेशसभा सदस्यको ५ हजार २३२ मतभार रहेको छ भने स्थानीय तहका २३७ जना प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्षको ४ हजा-र २६६ मतभार रहेको छ । जसअनुसार बागमती प्रदेशमा कुल ३४६ जना मतदाताको ९ हजार ४९८ मतभार गणना हुनेछ । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com