काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले प्रदेशस्तरीय पूँजीबजार सचेतना कार्यक्रम प्रदेश नम्बर १ को राजधानी विराटनगरमा आयोजना गरेको छ । नेपाल मर्चेन्ट बैंकर्स एशोसिएनशनको सहकार्यमा आयोजित सो कार्यक्रम प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राइले पुँजीबजारले छरिएर रहेको पैसालाई समेट्ने र त्यसले व्यवसाय र अर्थतन्त्र विकासमा सहयोग हुने हुँदा पुँजीबजारको बिरुद्धमा सरकार नरहेको बताए ।
नेपालमा अहिलेको पुँजी बजारले विश्वास आर्जन गर्न सकिरहेको छैन । आममानिसमा सचेतना र जागरण ल्याउन यस्तै खालका कार्यक्रम गरी मनोबलको विकास गर्नुपर्छ,’ उनले भने । त्यसमा प्रदेश सरकारले आवश्यक सहयोग विस्तार गर्ने पनि उनले बताए । ‘कानुन बनाउनु पर्ने भए बनाउँछौं, माथिल्लो सरकारमा आवश्यक समन्यव र सूचना पु¥याउन सहयोग गर्छौं, मोफसलमा पुँजीबजार फस्टाएको हेर्ने चाहना हाम्रो पनि छ,’ मुख्यमन्त्री राईले भने । प्रदेश सरकार बजारको विकास र विस्तारका लागि सदैव तप्तर रहने उनले प्रतिबद्धता जाहेर गरे ।
यसैगरी, कार्यक्रममा नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक नीरज गिरीले पुँजीबजारको विस्तार वृहतरुपले भइरहेको बताए । बजार विस्तारको तुलनामा धितोपत्र नियमनको आवश्यताअनुसार हुन बाँकी रहेको हुँदा त्यसका लागि बोर्डले पूर्वाधार निर्माण गरिरहेको उनले जानकारी दिए । ‘सुचिकृत कम्पनीहरुमा ९० प्रतिशत कम्पनी बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरु हुँदा राष्ट्र बैंकले ल्याउने नीतिगत प्रभाव पर्दा त्यो लगानीमैत्री नभएको महशुस हुन्छ । बजारमैत्री नीतिगत सहजीकरण गर्न बोर्डले सम्बन्धित सबै निकायहरुमा समन्यव गरिरहेको छ,’ गिरीले भने । बोर्डले प्रदेशस्तरमा पुँजीबजारको विकास र विस्तारका लागि स्थानीय सरकारसँग समन्यव गर्ने र प्रदेशस्तरमै स्टक ब्रोकर कम्पनीहरु ल्याइने जानकारी दिए ।
‘प्रदेशमा बोर्डको आवश्कता महशुस गरिएको हो तर सो अनुसार काम गर्न कार्यसम्पादन विभाजन लगायतका विषयका कारण हामीले काम गर्न सकेका छैनौं, तर, पहिलो चरणमा प्रदेश सरकारकै कार्यालयम बोर्डको प्रतिनिधि राख्नेछौं, आवश्यक पर्दा केन्द्रबाट समन्यव हुन्छ,’ उनले भने । उनले कृषि क्षेत्रलाई प्राथमिकतामा राखी कमोडिटी मार्केट ल्याउन आवश्यक काम बोर्डले अघि बढाएको पनि जानकारी दिए । साथै, बजारमा चल्ने हल्लाको पछि र नीतिगत प्रभावमा नपरी कम्पनीको आधारभुत स्थितिको मूल्यांकन गरेर पुँजीबजारमा लगानी गरी आफ्नो लगानीको सुनिश्चिता आफैले गर्न उनले सुझाव दिए ।
प्रदेश १ को आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सुमन दाहालले यहाँ पुँजीबजारको विकास र विस्तारमा सघाउन मन्त्रालय सदैव तयार रहेको बताए । प्रदेश तहमा पनि शेयर बजारको सञ्चालनका लाागि पूर्वाधार, नियामक र अन्य संरचना हुनुपर्नेमा उनको जोड थियो । नेपाल मर्चेन्ट बैंकर्स एशोसिएनशनका अध्यक्ष मेख बहादुर थापाले लगानीकर्तालाई सचेत भएर लगानी गर्न आग्रह गर्दै मर्चेन्ट बैंकिङले नेपालको पुँजी बजारमा पुर्याएको योगदान चर्चा गरे । उनले सेयर बजारमा लगानीका अन्य उपकरण थप गर्नुपर्ने जोड दिए । यी उपकरण केन्द्रमा मात्र नभएर प्रदेशसम्म विस्तार गरिनुपर्ने उनको भनाइ छ । मेरोलगानी ।