बेपत्ताको खोजी तथा उद्धार हुँदै । तस्विर दिनेश शर्माको फेसबुकवालबाट
नवीन शिशिर विक
बागलुङ। बागलुङको पश्चिम ढोरपाटन नगरपालिका–९ बोवाङ्गमा अविरल वर्षापछि आएको बाढी पहिराले बस्ती बगाउँदा बेपत्ता आठ जनाको शव फेला परेको छ ।
घटनास्थलतर्फ जाँदै गर्नुभएका इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीका अनुसार घटनास्थलको फरक फरक ठाउँमा आठ जनाको शव फेला परेको छ । मृतकको पहिचान हुन सकेको छैन ।
बाढी पहिरोले भुजीखोला तटीय क्षेत्रको भुसुण्डे, दुनेपोखरा, लाकुरीबोटका ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ । प्रहरी निरीक्षक भण्डारीका अनुसार ढोरपाटन नगरपालिका–३ भुजीखोला किनारमा अन्दाजी ३० वर्षीय पुरुष, ढोरपाटन नगरपालिका–५ बुडाथोकस्थित पुलको लठ्ठामा अड्केको अवस्थामा ३५ वर्षीय पुरुष, बडिगाड गाउँपालिका–५ बालुवामा अन्दाजी २२ वर्यी पुरुष र बडिगाड–७ खोप्चेमा १२ वर्षीय पुरुषको शव फेला परेको छ । अन्य चार जनाको शव फेला परे पनि ठाउँको यकिन भएको छैन ।
प्रहरीका अनुसार १३ जना बेपत्ताको नामावली प्राप्त भएको छ । बेपत्ता हुनेमा ढोरपाटन नगरपालिका–९ बस्ने ३५ वर्षीया कौशला पुन, उहाँको छ वर्षीय छोरा हिक्मल पुन, सोही स्थानका ३५ वर्षीय जितबहादुर घर्ती, २८ वर्षीया कुमारी विक, १९ वर्षीया पुतली विक, ३२ वर्षीया करमति घर्ती मगर, ३५ वर्षीया रिना घर्ती मगर, ३५ वर्षीया दिलमाया घर्ती मगर, उहाँकी छ वर्षीया छोरी, ५५ वर्षीया टुलमति पुन, गल्कोट नगरपालिका–४ घर भई ढोरपाटन घुम्न गएका २५ वर्षीय नवीन भण्डारी बेपत्ता हुनुभएको छ भने भण्डारीसँगै रहेका अन्य तीन सकुशल रहेका छन् ।