पुनम बसेल
अमेरिका । पर्वतको मोदी गाउँपालिका–बाजुङ्ग निवासी हेमन्त मल्ल अमेरिकामा रहेर पनि सामाजिक कार्यहरूमा सक्रिय रहँदै आएका छन् । अमेरिकाको नेपाली समुदायमा मल्लले राम्रो छाप पारेका छन् । उनलाई सामाजिक व्यक्तित्वको रूपमा त्यहाँ हेर्ने गरिन्छ ।
नेपाली समुदायहरूको साथ र हौसला पाएपछि उनै मल्ल गैर आवासीय नेपाली सङ्घ न्यूयोर्क च्याप्टरको अध्यक्ष पदमा उम्मेदवारीको घोषणा गरेका छन् । मल्लले प्यानल सहित चुनावमा भिड्ने भन्दै प्रचारप्रसार पनि तीव्र पारिसकेका छन् ।
उनको समूहका महिला उपाध्यक्षमा ज्ञानकुमारी थापा, सचिवमा रेसम जङ्ग शाह, महिला सचिवमा गीता अधिकारी, युवा संयोजकमा दिलीप लामिछाने र कोषाध्यक्षमा देवेन्द्र कुमार लामाले उम्मेदवारी दिएका छन् । सदस्यहरूमा चाहिँ विशाल रेग्मी, अनिल खत्री र अनमोल बहादुर रोकाले उम्मेदवारी घोषणा गरेका छन् ।
अध्यक्षका उम्मेदवारी मल्लले सम्पूर्ण नेपालीहरूको पक्षमा काम गरेर देखाउने बताए । उनले अमेरिकामा रहेका नेपालीहरूको लागि मात्र नभएर नेपालको समृद्ध यात्रामा समेत सघाउन आफू तयार रहेको बताए । अध्यक्षका उम्मेदवार मल्ल पर्वत सेवा समाज न्यूयोर्क अमेरिकाको अध्यक्ष पनि हुन् ।

“मैले चुनाव जितेपछि न्यूयोर्कमा बस्ने हरेक नेपालीको लागि २४ सै घण्टा हेल्प डेस्क सञ्चालनका लागि पहिलो काम हुनेछ । नेपाली भाषा, कला र संस्कृति जगेर्ना स्वरूप यहाँ जन्मेका बच्चाका लागि नेपाली कक्षा सञ्चालन अभियानलाई अघि बढाउने छु ।”, अध्यक्षका उम्मेदवार मल्लले भने, “ग्रैहआवशीय नेपालीका लागि नेपालमा दोहोरो नागरिकता प्राप्तिलाई मूल मुद्दा बनाएर अघि बढ्ने छ । नेपालमा भइपरी आउने समस्याको समाधानका लागि कम्तीमा ३० हजार डलर बरावरको राहत कोष सञ्चालनमा ल्याउने छु ।”