Home समाचार वडाध्यक्षद्वारा बाराको पसाहा र बालगंगा खोलामा उत्खनन बन्द गर्न निर्देशन

वडाध्यक्षद्वारा बाराको पसाहा र बालगंगा खोलामा उत्खनन बन्द गर्न निर्देशन

by ईलालटिन
0 comment

बारा । मापदण्ड विपरीत नदीजन्य पदार्थ (गिटी, ढुङ्गा, बालुवा) उत्खनन गरेको भन्दै जीतपुर सिमरा उपमहानगर १६ का वडाध्यक्षले बाराको पसाहा र बालगंगा खोला उत्खनन बन्द गरेका छन् । बुधवार बिहान स्थानीय पिलुवा युवा क्लबका युवाहरू सहित खोला अनुगमनमा पुगेका वडाध्यक्ष हरिदेव खरेलले मापदण्ड विपरीत गिटी, ढुङ्गा, बालुवा निकालेको भन्दै उपमहानगर अन्तर्गत रहेका पसाहा र बालगंगा खोला बन्द गराएका हुन् ।

वडाध्यक्ष खरेलले स्थानीय प्रहरी,प्रशासन, जनप्रतिनिधि,प्रमुख प्रशासकिय अधिकृत र प्राविधिक कर्मचारीलाई पटक पटक जानकारी गराउँदा बेवास्ता गरेको भन्दै बाध्य भएर खोला बन्द गर्न निर्देशन दिएको बताएका छन् । ‘विगतका वर्षहरूदेखि नै ठुला ठुला खाल्टा बनाएर खोला खन्दा हामीले स्थानीय प्रहरी, प्रशासन, जिल्ला समन्वय समितिलाई पटक पटक जानकारी गरायौ तर उहाँहरूको लापरबाही कारण यो वर्ष पनि  मापदण्ड विपरीत खोला उत्खनन रोकिएन’ वडाध्यक्ष खरेलले भने ‘खोलामा गैर कानुनी ढङ्गले उत्खनन भएको छ, अनुगमन गर्ने निकायले बेवास्ता गर्दा मिलेमतोको शङ्का देखिएको छ’ ।

जीतपुर सिमरा अन्तर्गत रहेका दुधौरा, बालगंगा र प-साहा खोला उत्खननका लागि उपमहानगरले वर्षेनी १२ देखि १४ करोडमा ठेक्का लगाउने गर्दछ । चालु आवमा भने पुनः वातावरणीय प्रभाव मूल्याङ्कन गर्नुपर्ने भएकाले फागुन १ गतेदेखि मात्रै खोला ठेक्का लागेको हो । चालु आवको चार महिनाको लागि (फागुन देखि जेठ मसान्त सम्म) ४ करोड ८१ लाखमा सन्देश सप्लार्यस प्रा. लि. सँग उपमहानगरले ठेक्का सम्झौता गरेको छ । करिब ७० लाख घनफिट बालुवा, गिटी, ढुङ्गा,ग्राभेल,उत्खनन गर्ने गरी सन्देश सप्लार्यससँग ठेक्का सम्झौता गरिएको छ ।

ठेक्का सम्झौता घनफिटका (परिणामको) आधारमा ठेक्का लगाएको भए पनि उपमहानगरको चरम लापरबाहीका कारण ठेकदारले जथाभाबी रूपमा खोला  खन्ने गर्दछन् । ‘खोलाबाट एउटा व्यक्तिले फाइदा लिने तर सम्पूर्ण स्थानीय जनताहरूले त्यसको पिडा भोग्नुपर्ने अवस्था छ’ खरेलले भने ‘मापदण्ड विपरीत खोला उत्खनन गर्दा नहेर्ने सरकारी कर्मचारीलाई पनि कानुनी कारबाही गर्नुपर्छ र तोकिएको मात्रा बढी उत्खनन गर्ने ठेकदारलाई अनुगमन गरेर बढी खनेको भए राजस्व तिर्न लगाउनुपर्छ ।’

राजस्व सङ्कलनका नाममा उपमहानगरले जथाभाबी रूपमा लगाएको ठेक्काले खोला आसपासका सयौँ बिगाहा खेतीयोग्य कृषि जमिन बगरमा परिणत भएको छ भने सडक, पुल लगायत भौतिक संरचनाहरू जीर्ण बन्दै गएका छन् । पछिल्लो समय निजगढ विमानस्थल आयोजना कार्यालयले पसाहा खोलामा लगाएको तटबन्ध समेत ठाउँ ठाउँमा भत्किएको छ ।

-बारा पिलुवाका स्थानीय राजु पुलामीले खोला नियमसंगत ढङ्गले उत्खनन गर्न पटक पटक अनुरोध गर्दा ठेकदारले कार्यान्वयन नगरेकाले स्थानीय युवाहरूले खोला बन्द गर्नुपरेको बताएका छन् । ‘गाउँलाई नै असर पर्ने गरी खोला खनेकोले हामीले रोकेको हौ’ स्थानीय युवाले पुलामीले भने । बालगंगा खोलामा ठेकदारले खनेको खाल्टो-मा परेर गत वर्ष एक बालकको ज्यान गएको थियो भने जङ्गली जनावर तथा घरेलु पशु चौपायहरुले समेत अकालमा ज्यान गुमाउने गरेका छन् ।

ठेक्का कम्पनीका प्रोपाईटर नारायण प्रसाद घिमिरेले मापदण्ड अनुसार ईआईएले उल्लेख गरेको ठाउँमा मात्रै खोला खनेको दाबी गरेका छन् । ‘खोलामा देखिएको ठुला ठुला खाडल गत वर्षको ठेकदारले खनेको हो हामीले खनेको होइन’ घिमिरेले भने ‘त्यो ठाउँमा हामीले चेक गर्दा पाँगो माटो भेटेर खन्दै खनेनौ’ । घिमिरेले खोला खन्न उपमहानगरसँग सम्झौता भएकोले वडाध्यक्षले खोला बन्द गर्न निर्देशन दिन नमिल्ने बताएका छन् । ‘हामीलाई खोला खन्न नगरपालिकाले इजाजत दिएको हो, नगरपालिकाले बन्द गर भन्छ भने बाँकी अवधिको राजस्व मिनाहा दिए हामी बन्द गर्न तयार छौ’ उनले भने ।

यस वर्ष ठेकदारले खोला उत्खननको छुट पुर्जी लिनु अगावै राजस्व बापतको ४ करोड ८१ लाख रुपैयाँ एकमुष्ट जम्मा गरेको थियो । बाराको १६ वटा पालिका -मध्ये निज-गढ, कोहल्वी नगरपालिका र जीतपुर सिमरा उपमहानगरले मात्रै नदीजन्य पदार्थ उत्खनन ठेक्का लाग्ने गर्दछ । उपमहानगरका अधिकृत बलराम खड्काले मंगलवारदेखि खोला बढी खनेको भन्ने गुनासो आएकोले प्राविधिक टोली खटाएर अनुगमन गरिने बताएका छन् । ‘वडाध्यक्षले खोला बन्द गरे भनेर खबर आएको छ, सबैजना चुनाव केन्द्रित रहेका अवस्थामा खोला बढी खनेको हुनसक्छ तर, अव हामीले प्राविधिक टोली खटाएर छानबिन गर्छौ’ अधिकृत खड्काले भने । रातोपाटी ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com