Home समाचार काँग्रेस चुनाव प्रचार अभियानमा खटिने अधिकांश नयाँको परीक्षणकाल

काँग्रेस चुनाव प्रचार अभियानमा खटिने अधिकांश नयाँको परीक्षणकाल

by ईलालटिन
0 comment

काठमाडौं । नेपाली काँग्रेसले चुनाव प्रचार अभियानमा पार्टीका धेरैजसो नयाँ केन्द्रीय सदस्यलाई खटाएको छ । पार्टीका पदाधिकारी, केन्द्रीय कार्यसम्पादन समिति सदस्य र प्रतिनिधिसभा सदस्यबाहेकका केन्द्रीय सदस्यलाई चुनाव प्रचारमा ७७ वटै जिल्लामा खटाएको छ । पदाधिकारी, कार्यसम्पादन समिति सदस्य र शीर्ष नेताहरू आ(आफ्नो इच्छामा अभियानमा सहभागी भएका छन् । तर प्रतिनिधिकै रूपमा पार्टीले खटाएका नयाँ केन्द्रीय सदस्यका लागि भने यो परीक्षणकै रूपमा रहेको छ । पार्टीका विभिन्न भ्रातृ तथा शुभेच्छुक संघमा विभिन्न जिम्मेवारी पूरा गर्दै केन्द्रीय सदस्य बने पनि पार्टी राजनीतिमा भने अनुभव नयाँ भएको उनीहरूको भनाइ छ ।

  काँग्रेसले चुनावमुखी अभियान आफ्नो पक्षमा जनमत बढाउने प्रयास गर्न लागेको हो । केन्द्रीय प्रतिनिधिहरूले जिल्ला कार्यसमितिले आयोजना गरेका कार्यक्रममार्फत पार्टीको केन्द्रीय उद्देश्य प्रकाश पार्नेछन् भने जनता र कार्यकर्तालाई नागरिक र लोकतान्त्रिक अधिकार अर्थात् मताधिकार प्रयोग गर्न उत्प्रेरित गर्नेछन् । काँग्रेसले स्थापनाकालदेखि गरेका राजनीतिक, विकास निर्माणसम्बन्धी, देश र जनताको हितका लागि गरेका कामबारे प्रचार प्रसार गर्ने केन्द्रीय प्रतिनिधिको जिम्मेवारीअन्तर्गत पर्छ । यस्तै विगतका सरकार र वर्तमान सरकारको चर्चा र विश्लेषण गर्नुका साथै एमसीसीको भ्रम र यथार्थबारे प्रस्ट पार्न पनि प्रतिनिधि प्रत्येक वडा र टोलसम्मै पुग्छन् ।  काँग्रेसको निर्वाचित र मनोनीत गरेर झन्डै डेढ सयको हाराहारीमा केन्द्रीय सदस्य छन् । नेता गुरुराज घिमिरेका अनुसार पार्टीले खटाएका केन्द्रीय सदस्यमध्ये झन्डै ९९ प्रतिशत नयाँ छन् ।

नयाँले ऊर्जाशील भएर जिम्मेवारी पूरा गर्ने उनले विश्वास व्यक्त गरेका छन् । पहिलोपटक पार्टीको केन्द्रीय सदस्य बनेका अजयबाबु सिवाकोटी मुस्ताङमा चुनावी अभियानमा व्यस्त छन् । अभियान सुरु भएयता उनले जोमसोम, मुक्तिनाथ र लेतेमा गरी पाँच स्थानमा कार्यक्रम गरेका छन् । पार्टीको जिम्मेवारी लिएर जिल्लामा पुगेका प्रतिनिधिलाई जिल्ला सभापतिदेखि सबै नेता कार्यकर्ताले राम्रो व्यवहार गरेकोले पनि आफू उत्साहित भएको सिवाकोटीले बताए । पहिलोपटक मुस्ताङ गएर पार्टीको कार्यक्रम गर्दा जिम्मेवारी थप भएको महसुस गरेको उनले बताए ।‘पार्टीको नेतृत्वप्रतिको भरोसा कुन ढंगले अगाडि बढाउने त्यो हाम्रो हातमा छ, पुराना केन्द्रीय सदस्यलाई नियमित अभ्यास होला, तर हामी नयाँ केन्द्रीय सदस्यका लागि परीक्षण पनि हुन सक्छ ।

जिम्मेवारीअन्तर्गत अभियानको अन्त्यमा रिपोर्ट तयार पारेर पार्टीमा बुझाउनुपर्छ, त्यसलाई सही ढंगले दिन सक्छौं वा सक्दैनौं भोलिको दिनमा देखिनेछ,’ उनले भने । अर्का केन्द्रीय जितजंग बस्नेतले पदीय हिसावले जिम्मेवारीबोध भएको बताए । केन्द्रबाट प्रतिनिधि बनेर जिल्लामा गरिएका कार्यक्रम सफ-ल हुन सक्यो भने सन्तुष्ट हुने आधार बन्ने उनको भनाइ छ । उनी अहिले भक्तपुरको चुनावी अभियानमा छन् । बस्नेत तरुण दलका पूर्वअध्यक्ष र नेविसंघका पूर्वमहामन्त्रीसमेत हुन् । तर पार्टीको केन्द्रीय सदस्यमा भने यो उनको पहिलो कार्यक्रम हो । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com