महेन्द्र जिसी
पर्वत । गाउँपालिकाले उपलब्ध गराएको अनुदानको बिउबाट ठगिएको पर्वतको मोदी गाउँपालिकाका किसानहरूले गुनासो गरेका छन् । चालु आर्थिक वर्षमा गाउँ पालिकाले ५० प्रतिशत अनुदानमा वितरण गरेको बिउविजन अनुदानमा ठगिएको बताएका हुन । स्थानीय बजार मूल्य भन्दा बढी मूल्यमा गाउँ पालिकाले खरिद गरेर किसानलाई बाँडेको अनुदानको बिउबाट किसानहरू ठगिएको बताएका हुन । आमबोट कृषि फर्मका सञ्चालक कृष्ण बहादुर सुवेदीले गाउँपालिका मार्फत आफुमात्र नभई राज्य समेत ठगिएको बताए ।
गाउँ पालिकाले कोटेसनमा खरिद गरेको बिउ स्थानीय बजारमा पाइने भन्दा महँगो मूल्य लगाएर किसानलाई ५० प्रतिशत अनुदानमा वितरण गरेको कारण साना किसानहरू ठगिएको स्थानीय व्यवसायीहरूले बताएका हुन । आफुहरुले बजारमा होलसेल ६० रुपैयाँ प्रति प्याकेट पाइने भक्तपुर लोकल काँक्राको बिउ गाउँ पालिकाले ८० रुपैयाँ खरिद मूल्य लगाएर किसानलाई वितरण गरिरहेको स्थानीय व्यपारीहरुको भनाई छ । स्थानीय व्यापारी गंगा तिमिलिसिनाका अनुसार पालिकाले वितरण गर्ने सबै किसिमका बिउँमा मूल्य बढाइएको छ । उनले भनिन्,‘भक्तपुर लोकल काँक्रोको बिउँ प्रति पाकेट ६० रुपैयाँमा उपलब्ध गराउन सक्ने भए पनि पालिकाले ८० रुपैयाँ लगाएर किसानलाई बाँडेर प्रति पाकेटमा २० रुपैयाँ ठगी गरिएको छ ।’
गाउँ पालिकाले विभिन्न लहरे वाली तथा वर्षे सिजनको बिउ अनुदानमा वितरण गरिरहेको हो । चालु आर्थिक वर्षमा गाउँपालिकाले ८ लाख बजेट मार्फत हिउँदे र वर्षे गरी दुई सिजनको बिउ खरिद गरेर अनुदानमा वितरण गरिरहेको हो । सम्पूर्ण कृषि सामाग्री भण्डार पोखरा र एवि ट्रेड्स पोखरा मार्फत बिउ किनेर वितरण गरेको हो गाउँ पालिकाले कोटेसनमा बिउ खरिद गरेर किसानहरूलाई ५० प्रतिशत अनुदानमा वितरण गरिरहेको जनाएको छ ।कृषि शाखा प्रमुख मनीषा महतले स्थानीय एग्रोभेटहरुमा गुणस्तरीय बिउ नपाइने भए पनि बाहिरी बजार बाट कोटेसन मार्फत खरिद गरेर वितरण गरिएको बताइन ।
गाउँ पालिकाले अहिले काँक्रा गिरौला, जुकेनी , मिटर बोटी , गाजर , फर्सी , करेला , लौका , च्याउ लगायतका ३० प्रजातिका तरकारीका बिउ बिजनहरू खरिद गरेर वितरण गर्दै आएको छ । गाउँ पालिकामा एक सय ४७ कृषि समहु सहकारी र केही व्यवसायीका फर्म रहेका छन् ।
