Home समाचार सुनाकोठीको बालकुमारी माई खोज्न अनुसन्धान टोली गठन

सुनाकोठीको बालकुमारी माई खोज्न अनुसन्धान टोली गठन

by ईलालटिन
0 comment

ललितपुर ।  ललितपुरको सुनाकोठीबाट चोरिएको बालकुमारी माईको मूर्ति खोजीका लागि लागि पाँच सदस्यीय अनुसन्धान टोली गठन गरिएको छ।  प्रहरी नायव निरीक्षक दीपक भारतीको संयोजकत्वमा उक्त अनुसन्धान टोली गठन गरिएको प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक शिद्धी विक्रम शाहले जानकारी दिए। ‘प्राविधिकसहित अनुसन्धानका लागि टोली गठन गरेका छौं, अनुसन्धानका टुल्सहरु प्रयोग गरेर खोजी सुरु गरिसकेका छौं,’ उनले भने।

ललितपुर महानगरको वडा नं २७ मा रहेको मन्दिरबाट बालकुमारीमाईको मूर्ति आइतबार सबेरै चोरी भएको थियो। चोरीमा संलग्नले चार वटा तल्चा काटेर मन्दिर भित्र प्रवेश गरी मूर्ति चोरेको थियो। प्रदेश सांसद राजकाजी महर्जनले कल ट्रेसिङलगायत सम्पूर्ण अत्याधुनिक प्रविधि प्रयोग गरेर अनुसन्धानलाई चुस्त र प्रभावकारी बनाउनुपर्ने बताए। उनले भने, ‘सुनाकोठीमा अप्रिय घटना भएको छ, सुनाकोठीवासी दुःखमा हुनुहन्छ, राज्यका सम्पूर्ण संयन्त्र प्रयोग गरेर मूर्ति  खोजी गर्नुपर्छ।’

आस्थाको केन्द्र,  धार्मिक, ऐतिहासिक सम्पत्तिको चोरीले सुनाकोठीवासी मर्माहत भएको प्रदेश सांसद दिनेश महर्जनले बताए। उनले भने, ‘तदारूकता र जिम्मेवारीवोधसहित खोजीमा लागौं।’ललितपुर महानगरप्रमुख चिरीबाबु महर्जनले घटना निन्दनीय भएको बताए। ‘बालकुमारी माईको मूर्ति चोरी हुँदा हाम्रो मन रोएको छ, माईलाई आफ्नै घरमा फर्काउन अनुसन्धानलाई चुस्त बनाऔं,’ महर्जनले भने। महानगरका तर्फका मूर्ति खोजीका सबै खालको सहयोग गर्न तयार रहेको नगर प्रमुख महर्जनले प्रष्ट पारे। उनले भने, ‘म सामाजिक, आर्थिक, राजनीतिक रुपमा सहयोग गर्न तयार छु, अनुसन्धान चुस्त हुनुपर्‍यो, जतिसक्दो छिटो मूर्ति सुनाकोठीमा राख्न पाइयोस्।’

वडा नं २७ का वडा अध्यक्ष बाबुराज महर्जनले मूर्ति हराउँदा सुनाकोठीबासीको मुटु छियाछिया भएको बताए। उनले अनुसन्धानका लागि सबैखालको सहयोग गर्न तयार रहेको वचनबद्धता व्यक्त गरे। वडा नं २६ का अध्यक्ष सुरेश महर्जनले आस्थाको धरोहर बालकुमारी माईलाई आफ्नै घरमा फर्काउन आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताउँदै अनुसन्धानलाई चुस्त बनाउन आग्रह गरे । ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले अनुसन्धानलाई चुस्त बनाउन केन्द्रीय सुरक्षा संयन्त्र समेत लागेको जानकारी दिए। उनले भने, ‘अनुसन्धान चुस्त हुन्छ, सुरक्षा संयन्त्र  यसमा संवेदनशील भएर लागेको छ।’

उनले स्थानीय सरकार, प्रदेश सरकारलाई धार्मिक, ऐतिहासिक, सांस्कृतिक धरोहर रहेका ठाउँमा सिसिटी टिभी जडान गर्न अनुरोध गरे। उनले भने, ‘सुरक्षा क्षेत्रमा सिसिटीभी जडानका लागि मनग्य आर्थिक स्रोत हुँदैन, स्थानीय र प्रदेश सरकारले यसमा ध्यान दिए, मन्दिर, पाटीको मात्रै नभएर सम्पूर्ण क्षेत्रको नै सुरक्षा हुन्छ।’ बैठकमा बालकुमारी गुठीका गुठीयार, भलाद्मी लगायत सुनाकोठीबासीको समेत सहभागिता थियो । सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com