पर्वत । केही दिन अघि काठमाण्डौं महानगरपालिकाका मेयर बालेन्द« शाहले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका थिए । उनको त्यो कदमलाई सामाजिक सञ्जालमा धेरैले रुचाए पनि । ग्रेटर नेपालको नक्साकै कारण मेयर बालेनलाई राष्ट्रभक्त र साहसी मेयरका रूपमा समेत चित्रण गर्न थालिएको छ ।
यता कुश्मा नगरपालिका–५ का वडा अध्यक्ष रामहरि शर्माले पनि मेयर शाहकै तरिकाले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका छन् । उनले राखेको ग्रेटर नेपालको नक्सा सहितको उनको तस्बिर आज मङ्गलवार सामाजिक सञ्जालमा सार्वजनिक भएको हो । वडा अध्यक्ष शर्मालाई अहिले सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले बधाई र राम्रो काम भन्दै प्रशंसा गरिरहेका छन् ।
“मैले अस्ति नै राखेको हुँ । आज कार्यालयमा आउने सेवाग्राहीले खिचेर फेसबुकमा हाल्नु भएछ ।”, वडा अध्यक्ष शर्माले भने, “बालेनको सिको गरेको हैन । हरेक राष्ट्रभक्तले आफ्नो कार्यकक्षमा राख्नु आवश्यक छ । अब देशभक्त झल्कने अन्य कुराहरू पनि क्रमशः वडामा राख्दै जानेछु ।”
भारतले जेठ १४ गते नयाँ संसद् भवनको उद्घाटन गरेको थियो । उक्त भवनमा भारतले अखण्ड भारतको नक्सा राखेको थियो । जुन नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु समेत समेटिएको छ ।
