Home जनप्रतिनिधि शैक्षिक समस्याको पोकोलाई वडा अध्यक्ष सुबेदीले समाधानको कैँचीले काटे

शैक्षिक समस्याको पोकोलाई वडा अध्यक्ष सुबेदीले समाधानको कैँचीले काटे

by ईलालटिन
0 comment

पर्वत । सार्वजनिक शिक्षा कमजोर भएको जनगुनासो व्याप्त रहिरहेका बेला पर्वतको कुश्मा १० पिपलटारीमा समस्या पहिचानका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

प्रतिनिधिमूलक उपस्थिति गराइएको उक्त कार्यक्रममा फरक अभ्यास गर्दै कार्यक्रमको उद्घाटन गरियो । तीन दर्जन बढी सहभागीहरुका बिच कुश्मा १० का वडाध्यक्ष रामचन्द्र सुवेदीले बुधवार सार्वजनिक शिक्षाका समस्याको पोको समाधानको कैँचीले काटेर कार्यक्रमको विधिवत् उद्घाटन गरे ।

कार्यक्रममा आयोजकले सहभागीहरूलाई पहिले नै पेन, डायरी र मेटा कार्ड थमाएर शैक्षिक समस्याहरू झोलामा सङ्कलन गरेका थिए । तीनै समस्याहरू पहिचान गर्ने र समाधान गर्ने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको आयोजक संस्था पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजका सचिव सन्तोष पौडेलले जानकारी दिए ।

चैते दशैंको माहौललाई बिर्सिएर वडा कार्यालयमा जम्मा भएका सहभागीहरूबिच सार्वजनिक शिक्षा सुधारका लागि के गर्न सकिन्छ ? भन्ने विषयमा खुल्ला बहस गरे । विभिन्न समूहमा विभाजन गरी समस्या खोतल्ने प्रयास गरिएको सो कार्यक्रममा वडाभित्र रहेका प्रधानाध्यापकहरूको समूह, विद्यार्थी एवं पूर्व विद्यार्थी र सङ्घसंस्थाका प्रतिनिधिहरूको समूह, जनप्रतिनिधि, पूर्व जनप्रतिनिधि तथा राजनीतिक दलहरूको समूह र विद्यालय व्यवस्थापन समिति एवं शिक्षक अभिभावक सङ्घको गरी चार समूह निर्माण गरिएको थियो ।

सबै समूहहरूले आ–आफ्नो समूहबाट न्यूजप्रिन्टमा लिपिबद्ध गरिएका समस्याहरूलाई पालैपालो प्रस्तुती गरेका थिए । समूह अन्तर्गतका छलफलबाट आएका टिपोटहरू पूर्व कार्यपालिका सदस्य तथा विव्यस अध्यक्ष देवेन्द्रबहादुर नेपाली, जनक माविका प्रधानाध्यापक टेकनाथ अधिकारी, नेकपा एमालेका वडा कमिटी अध्यक्ष रामचन्द्र सुवेदी, जनक माविका शिक्षक भिमराज सापकोटा र वडा सचिव नारायण लामिछानेले प्रस्तुत गरेका थिए ।

छलफलपछि सबै क्षेत्रको प्रतिनिधित्व हुने गरी समस्या समाधानका लागि ११ सदस्यीय समिति निर्माण गरिएको छ । सो समितिले तत्काल देखिएका समस्या र समाधानका विकल्प वडा कार्यालयलाई सुझाउने र सोही बमोजिम आगामी योजना बन्ने वडा कार्यालयले जनाएको छ । वडा नं. १० को कार्यालयमा भएको सो कार्यक्रममा गहते अम्बोट आधारभूत विद्यालयका प्रधानाध्यापक ओमकार पौडेल र शिक्षक अभिभावक सङ्घका अध्यक्ष बाबुराम पौडेलले आफूले भोगेका समस्या र राम्रो विद्यालय बनाउन गरिएका पहलहरूको बारेमा अनुभव सुनाएका थिए भने शिक्षाका लागि राष्ट्रिय अभियान पर्वतका अध्यक्ष यज्ञप्रसाद शर्माले सार्वजनिक शिक्षा सुधारका लागि सरोकारवालाहरूको ध्यानाकृष्ट हुने गरी कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा पूर्व गाविस अध्यक्ष तथा नेकपा एमाले प्रदेश कमिटी सदस्यद्वय मेघनाथ सुवेदी, शान्त पौडेल, नेपाल सरकारका उपसचिव, पूर्णेश्वर माविका पूर्व विद्यार्थी उद्वीर नेपाली, निवर्तमान वडाध्यक्ष सुजन विक, कुश्मा नगरपालिकाका शिक्षा अधिकृत अर्जुन पौडेल लगायतले भूपू समाज र एनसिई नेपालले शैक्षिक क्षेत्र सुधारका लागि असल कार्यको थालनी गरेको भन्दै वडा स्तरबाट समस्या पहिचान गरिनुले दिगो समाधानको विकल्प खुल्ने बताएका थिए । उनीहरूले यस्ता कार्यक्रम आयोजना गरिनु वडाको सामुदायिक शिक्षा सुधारका लागि राम्रो सङ्केत भएको बताए । कार्यक्रममा बोल्दै उनीहरूले शैक्षिक सुधारका लागि असल अभ्यासको सुरुवात भएकोमा खुसी व्यक्त गर्दै शिक्षामा देखिएका बेथिति हल गर्न आफ्नो क्षेत्रबाट कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजका अध्यक्ष राजु पौडेलको अध्यक्षतामा सम्पन्न सो अन्तरक्रिया कार्यक्रमको सञ्चालन समाजका सचिव सन्तोष पौडेलले गरेका थिए । सो कार्यक्रममा स्वागत जनक मावि भूपू समाजका सचिव गणेश पौडेल र धन्यवाद मन्तव्य शिक्षाका लागि राष्ट्रिय अभियान पर्वतका सचिव आशिष पौडेलले गरेका थिए ।

कार्यक्रमको आयोजना पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाज, शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल र जनक मावि भूपू समाजले गरेका थिए भने समन्वय कुश्मा नगरपालिका १० नं. वडा कार्यालय, पिपलटारीले गरेको थियो ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com