पर्वत । पर्वतको जलजला गाउँपालिका–७ धाइरीङका बासिन्दाहरुले सोमबार सडक अलपत्र बनाउने निर्माण व्यवसायीको तस्बिर सहितको ब्यानर टाँसेर बिरोध जनाएका छन् ।
मिलनचोक–सल्यान–घाहाखेत–धारापानी–ठोट्नेरी जोड्ने सडक आयोजनाको ठेकेदार कम्पनी हिमदुङ एण्ड थोकर प्रालीका सञ्चालक बहादुर सिंह लामाको तस्विर सहितको ब्यानर राखेर बिरोध गरेका हुन् । लामा सञ्चालक रहेको सो कम्पनीले वि.स. २०७६ मंसिर ६ गते २८ करोड १३ लाख रुपैयाँमा १० किलोमिटर सडक स्तरोन्नति र कालोपत्र गर्ने ठेक्का सम्झौता गरेको थियो ।
गण्डकी प्रदेशको एक निर्वाचन क्षेत्र एक सडक आयोजना अन्तर्गतको सो सडक वि.स. २०७८ मंसिर ५ गते निर्माण सम्पन्न गर्ने सम्झौता थियो । आगामी असार सम्मको म्याद भएपनि अहिलेसम्म काम सुरु भएको छैन । पछिल्लो १८ महिनायता निर्माण कार्य ठप्प बनेको सडक निर्माणको काम अघि बढाउन पूर्वाधार विकास कार्यालय र भौतिक योजना तथा यातायात मन्त्रालयको ध्यानाकर्षण गराएपनि सुनुवाइ नभएपछि आन्दोलनमा उत्रिएको धाइरीङका साजन परियारले बताए ।
धाइरीङका मनोहर आचार्यले सम्बद्ध कार्यालय, व्यवसायी, प्रशासन, जनप्रतिनिधि र मन्त्रालयमा पुगेर दवाव दिनुका साथै छलफल भएपनि काम अघि नबढेपछि बाध्य भएर सांसद जस्तो पदमा पुगेका व्यक्तिको तस्विर सार्वजनिक गर्नुपरेको बताए । सडक अधुरो हुँदा आवत जावतमा सास्ती, दुर्घटनाको जोखिम, पहिरो र भुक्षयको समस्या बढेको स्थानीय दुर्गाबहादुर दर्जीले बताए । सडक निर्माणलाई अधकल्चो बनाएर छाडिएकाले बस्तीमा पहिरोको जोखिम भएको उनको भनाइ छ ।

५ मिटर २५ सेन्टिमिटर चौडाइमा डिबिएसटी कालोपत्रे हुने सडक सात मिटर र एक मिटर नाली बनाउने लक्ष्य छ । अधिकांश भागमा विस्तार, ग्रेड मिलाउने, घुम्ती सुधार गर्ने, नाली बनाउने काम सकिएको सडकको मिलनचोक देखि सल्यान खण्डमा ग्राभेल समेत गरेर कालोपत्रको तयारी गरिएको थियो । निर्माणको कामले निरन्तरता नपाउँदा बनाइएका संरचनाहरु भत्किएर सडक जिर्ण बनेको छ ।
यो सडक निर्माण भएमा धाइरीङका एक हजार भन्दा बढी घरधुरी लाभान्वित हुनेछन् । धाइरीङमा उत्पादीत तरकारी निकासी, भुमे ठाकुर र जलजला जाने आउने पर्यटक तथा भक्तजनलाई सहज हुने थियो । निर्माण कम्पनीका सञ्चालक लामाले भने आफ्नो फर्म प्रयोग गरेका स्थानीय व्यवसायीको लापरबाहीका कारण बदनामी ब्यहोर्नुपरेको गुनासो गरेका छन् ।