पर्वत । कुश्मा नगरपालिकाको कार्यालय परिसरमा पारिलो घाम ताप्दै गरेको समूह देख्नु भयो भने नझुक्किनु होला है…। उहाँहरू कोही नभएर नगरपालिकाको कर्मचारीहरू हुनुहुन्छ ।
कार्यालय भित्र कुर्ची टेबल छाडेर सेवाग्राहीको तरिकामा कार्यालयको काममा पालो पर्खेर बसे जसरी नगरपालिकाको बाहिर घाममा मज्जाले कुनै अप्ठ्यारो बेगर गफिँदै बसेको दृश्य गज्जबै लाग्दो रहेछ ।
१० बजे कार्यालय समय आइपुग्नु पर्ने भए पनि उहाँहरू धेरै मिनेट गएपछि मात्रै कार्यालय आउनुहुन्छ र झोला राखेर हाजिर चढाएर गोजीबाट मोबाइल झिक्दै घाममा निस्की हाल्नुहुन्छ ।
कहिलेकाहीँ त सेवाग्राही कार्यालयभित्र छिर्ने तर कर्मचारी घाममा मस्त हुने कारणले समेत सेवाग्राही काम बिना नै घर फर्कने पर्ने अवस्था समेत आउँदो रहेछ ।
तर, धेरै जना सेवाग्राही भने घाम ताप्ने कर्मचारीबारे जानकार नै हुँदा रहेछन् । घाम ताप्ने ठाउँमै पुगेर कर्मचारीलाई नमस्कार गरेर कनीकुथी कार्यालयभित्र ल्याएर काम गराउँदा रहेछन् ।

जाडो महिनामा सबैलाई घाम प्यारो नै लाग्छ । तर, कसैले पनि आफ्नो जिम्मेवारी र मर्यादा बिर्सन त भएन नि । अझ नागरिकको कर उठाएर राज्यबाट तलब सुविधा लिएकाहरू त बढी नै जिम्मेवारी बन्नु पर्दैन र ? सधैँ पारिलो घाम तापेर तलब भत्ता लिनु चाहिँ सुहाउँदो हुँदैन कि ?
कार्यालय समयमा त्यो पनि कार्यालय पोसाकमै बाटो नै छेकिने गरी लामबद्ध भएर घाम ताप्न छाडौँ । सेवाग्राही कार्यालय भित्र छिर्दा तपाईँहरू त्यहाँ भेटिनु प¥र्यो । ना कि घाम ताप्न बसेका कर्मचारीहरूलाई गाउँबाट आएको एउटा सेवाग्राहीले फलानो को हो, मेरो काम गर्नु थियो भन्दै कर्मचारी चिन्दै हिँड्न नपरोस् ।