पर्वत ।
राम नेपाली । नेपाली राजनीतिमा इमानदारिता र निष्ठाको राजनीति गर्ने पात्रको रूपमा ऋषिकेश तिवारीलाई लिने गरिन्छ । उनलाई नजिकबाट चिन्नेहरू सकारात्मक चिन्तन र ऊर्जाशील व्यक्तित्वको रूपमा लिने गर्छन् ।
लामो समयसम्म समकालीन राजनीतिको किनारामा पारिएका तिवारीले धेरै पटक हातमा परेको टिकट गुमाउने परेको छ । “आफूले पाए जित्छु यदि अरूले टिकट पाउनु भयो भने जिताउन हिँड्छु” भन्ने उनको अभिव्यक्तिको पर्वतको राजनीतिमा धेरैले प्रशंसा समेत गर्ने गर्छन् ।
“कहिल्यै पनि चुनावका लागि टिकट पाइन भनेर नकारात्मक हुनु भएन ।”, तिवारी सँग लामो सङ्गत गरेका हरि न्यौपानेले भने, “जहिल्यै मैले टिकट नपाए पनि साथीहरूले टिकट ल्याउनुभएको छ, उहाँहरूलाई जिताउनु पर्छ भन्दै आफै खटेर लागि पर्दै आउनुभयो ।”
धेरै पटकको टिकट ल्याउने असफल प्रयासपछि अन्ततः तिवारीले आसन्न मंसिंर ४ गतेको निर्वाचनमा पर्वत (ख) प्रदेश सभा सदस्यका लागि टिकट पाएका छन् । पार्टीले यस निर्वाचनमा तिवारीलाई टिकट उपलब्ध गराएर इमान र निष्ठाको राजनीति गर्ने कार्यकर्ताहरूलाई हौसला थपेको काँग्रेस कार्यकर्ता याम बहादुर परियारले बताए ।

“ऋषिकेश दाइको राजनीतिक यात्रा हेर्दा राजनीति पदका लागि मात्र गरिँदैन र राजनीतिमा धैर्यता आवश्यक पर्छ भन्ने राजनीतिक ज्ञान हामी युवा पुस्तालाई प्राप्त भएको छ ।”, परियारले भने, “ऋषि दाइको उम्मेदवारीलाई लिएर गाउँमा खुसीयाली छाएको छ । उहाँ नयाँ अनुहार पनि भएको कारण हुनसक्छ गाउँलेहरूको उत्साह देख्दा चुनाव जितिन्छ भन्ने पनि छ । ”
पर्वत (ख) प्रदेश सभा सदस्यका उम्मेदवार तिवारीले “सामाजिक उद्यमशीलता” नामक पुस्तक समेत लेखिसकेका छन् । एम.ए वि.एड. सम्मको शिक्षा हासिल गरेका तिवारीले आफ्नो प्रकाशित पुस्तकमा गाउँका युवालाई कसरी उद्यमसँग जोड्ने र उनीहरूलाई कसरी उद्यमी बनाउन सकिन्छ भन्ने कुराहरू समेटेका छन् ।
“पर्वतका जङ्गलमा पाइने लप्सीलाई व्यावसायिक बनाउने काम ऋषिकेश सरले नै गर्नुभएको हो ।”, फलेवासका युवा केदार सापकोटाले भने, “उहाँको सामाजिक उद्यमशीलता पुस्तकमा पनि लप्सीको महत्त्व र यसबाट उद्यमी बन्ने बाटोहरू पहिल्याउने काम गरिएको छ । ”
तिवारीले आफ्नो पुस्तकमा गाउँमै कमाउने र रमाउने बनाउने कसरी ? लगायतका चार प्रश्नहरू पनि गरेका छन् । उनले गरेको प्रश्नको जवाफ पनि पुस्तकमा नै समावेश गरेका छन् । “कृषिलाई उद्योग र किसानलाई उद्यमी बनाउने कसरी ? अरूलाई पनि गाउँमै बसूँ बसूँ तुल्याउने कसरी ? र युवा पुस्तालाई सामाजिक उद्यमी बनाउने कसरी ? भन्ने प्रश्नको जवाफ किताबमा छ ।” उहाँले भन्नुभयो, “अब यसको सही कार्यान्वयनका लागि यसपालि चुनावमा होमिएको छु, मेरो जितपछि क्रमशः पुस्तकका कुराहरू व्यवहारमा लागु हुनेछन् ।”
२०६४ सालमा अन्तरिम व्यवस्थापिका संसद्को तीन महिना पार्टीद्वारा मनोनीत सदस्य भएका तिवारीले २०७१ देखि ७३ सालसम्म पार्टीको मुख्य सचिव बनेर तेह्रो महाधिवेशन सम्पन्न गराएका थिए । “म आजका दिनसम्म कुनै पनि लाभको पद नलिएको व्यक्ति हुँ ।”, तिवारीले भने, “मेरो सामान्य कुराहरू छन्, गरिबको चुल्हो बोल्नु प¥यो, युवा गाउँमै बस्ने वातावरण बन्नु प¥यो, कृषिलाई उद्यमसँग जोड्न सक्नु¥यो । यही नै मेरा एजेन्डाहरू हुन् । र, म यो गरेरै छाड्छु, मलाई एक पटक जनताले विश्वास चाहिँ गनुप¥यो ।”
उनले सामाजिक उद्यमशीलता, नवीनता, सृजनात्मक सोचका कार्यहरू गरेको भन्दै २०६१ सालमा अशोका अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित बनेका थिए । तिवारीले २०६५ सालमा शान्तिदुत पुरस्कार, २०६९ मा पर्वतीय विकास पुरस्कार र २०७० मा राष्ट्रिय वातावरण पुरस्कार समेत पाइसकेका छन् ।